बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ निर्वाचित
१४ श्रावण, हेटौँडा । नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ ।
प्रदेशसभा सचिवालय परिसरमा बुधवार भएको दलको निर्वाचनमा बानियाँले मुख्यमन्त्री समेत रहनुभएका बहादुर सिंह लामालाई पराजित गर्नुभएको हो । कांग्रेसका ३७ सांसदमध्ये बानियाँले २२ मत पाउँदा लामाले १४ मत मात्रै प्राप्त गरे । १ मत बदर भएको छ । लामाले दलको नेताको हैसियत गुमाएपछि दलको नेता चयनका लागि निर्वाचन भएको हो । बानियाँको नेतृत्वमा कांग्रेसका २१ जना सांसदले दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । लामा नेतृत्व सरकारका पाँच जना मन्त्रीले राजीनामा दिएर बानियाँलाई साथ दिएका थिए ।
यसअघि बानियाँकै अगुवाइमा संसदीय दलका तत्कालीन नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । उक्त प्रस्ताव संसदीय दलको बहुमत अर्थात् २२ मतले पारित गरेको थियो ।
बानियाँ र लामा संसदीय दलको नेतामा दोस्रो पटक भिडेका हुन् । २०७९ मंसिर ४ मा भएको प्रदेश सभा निर्वाचनपछि बागमती प्रदेश सभाको ठूलो दल नेपाली कांग्रेस संसदीय दलको नेताका लागि २०७९ पुस १३ मा भएको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित भएका थिए । लामाले २१ मत ल्याउँदा बानियाँले १६ मत मात्रै पाएका थिए ।














