कृषि मन्त्रालयको प्रगति विवरणः कृषि अनुदान, राहत रकम वितरण मुख्य उपलब्धिमा समावेश

संवाददाता
१६ श्रावण २०८२, बिहीबार २०:२१

१५ श्रावण, हेटौँडा । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत आर्थिक वर्ष २०८१÷ ८२ मा सम्पन्न गरेका महत्वपूर्ण कार्यहरूको विवरण सार्वजनिक गरेको छ ।
मन्त्री प्रकाश श्रेष्ठले बिहीबार पत्रकार सम्मेलन गरी आफ्नो कार्यकालमा भएका कामहरूको प्रगति विवरण प्रस्तुत गर्नुभएको हो । सार्वजनिक गरिएका ३६ बुँदे विवरणमा १२ वटा बुँदाहरू कृषि अनुदान, राहत रकम, कृषि ऋणमा सरकारले ब्याज बेहोर्ने, अनुदान सहयोग र प्रोत्साहन रकम जस्ता विषय केन्द्रित रहेका छन् । मन्त्रालयले समुदायमा आधारित खेती प्रणालीलाई प्रवद्र्धन गर्दै गतवर्ष ४५ वटा वडालाई प्रतिवडा ४० लाख रुपैयाँका दरले सहयोग गरेको छ ।
साना किसान लघु उद्यम संस्थामार्फत चार जना कृषकलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरिएको छ । यो व्यवस्था अन्तर्गत किसानले न्यूनतम ५ लाखदेखि अधिकतम १ करोड रुपैयाँसम्म कर्जा लिन सक्ने मन्त्री श्रेष्ठले बताउनुभयो । शिक्षित युवालाई अनुसन्धान र व्यवसायमा आकर्षित गर्ने उद्देश्यले स्नातक तहसम्म अध्ययन गरेका व्यक्तिहरूलाई ८ लाख, स्नातकोत्तर तहका लागि १० लाख र विद्यावारिधि गरेका व्यक्तिहरूलाई २२ लाख रुपैयाँ सहयोग गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।
पशु स्वास्थ्यतर्फ प्रदेशका १५ लाख ३२ हजार ३ सय २६ वटा भेडाबाख्रालाई पिपिआर रोग विरुद्ध र ७१ हजार ९ सय ७७ वटा गाईभैंसीमा लम्पी स्किन रोग विरुद्ध खोप लगाइएको छ । साथै, ‘एक वडा, एक पशु स्वास्थ्य क्लिनिक’ कार्यक्रम अन्तर्गत ४ सय २२ वटा पशु क्लिनिक भवन निर्माण गरी सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
हेटौडा १० मा निर्माण गरिएको पाउडर दूध प्लान्ट परीक्षण अवधिका लागि डिडिसीलाई सञ्चालन गर्न दिइएको मन्त्री श्रेष्ठले बताउनुभयो । यसको दीर्घकालीन सञ्चालन मोडालिटी अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । त्यस्तै, हेटौंडा उपमहानगरपालिकासँगको साझेदारीमा निर्माण गरिएको प्रादेशिक कृषि थोक बजार साउन १८ गते हस्तान्तरण गरिने तयारी भएको समेत मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
मूल्य श्रृंखला विकास कार्यक्रम अन्तर्गत कृषक तथा पशुपालक गरी २६ जनालाई अधिकतम २५ लाख रुपैयाँसम्म सहयोग गरिएको छ । सहकारी संस्थामार्फत सञ्चालन भएका दुग्ध चिस्यान केन्द्रलाई विद्युत् महसुल वापत ३४ लाख ९९ हजार रुपैयाँ अनुदान दिइएको छ। त्यसैगरी फ्लोटिङ फिस फिड उद्योगलाई पनि ५ लाख रुपैयाँ विद्युत् महसुल अनुदान दिइएको मन्त्री श्रेष्ठले बताउनुभयो ।
गत वर्षको विपद्बाट क्षति व्यहोरेका ३ सय ३० जना कृषक र १६ वटा फार्मलाई गरी १ करोड २२ लाख ११ हजार रुपैयाँ राहत उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत आर्थक वर्षमा कुल २ अर्ब ५० करोड रुपैयाँको बजेटमध्ये ६७ दशमलव २९ प्रतिशत खर्च गरेकोे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*