बागमती प्रदेशका मुख्यमन्त्री लामाद्वारा पदबाट राजीनामा
१८ श्रावण, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिनुभएको छ ।
२०८१ साउन ९ गते मुख्यमन्त्रीमा सपथ लिनुभएका लामाले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आइतबार पदबाट राजीनामा दिनुभएको हो । आइतबार पत्रकार सम्मेलन गरी मुुख्यमन्त्री लामाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको बताउनुभयो । उहाँले आफूले इमान्दरपूर्वक काम गरेको बताउँदै आफ्नै दलभित्रको प्रपञ्चबाट सरकार छोड्नु परेको बताउनुभयो । यो घटनाक्रमबाट नभाग्ने पनि उहाँको भनाई थियो । यस घटनाक्रमले लोकतन्त्र र गणतन्त्रमाथि खतराको संकेत गरेको मुख्यमन्त्री लामाको आरोप छ । उहाँले बागमती प्रदेश सरकार परिवर्तन गर्नुपर्ने कारण खोजी गर्नुपर्ने बताउनुभयो । ५ वर्षको लागि निर्वाचित संसदीय दलको नेता बीचमै परिवर्तन गर्दा स्थिरताको प्रतिबद्धता माथि नै प्रश्न उठेको उहाँको भनाई छ ।
पत्रकार सम्मेलनमा उहाँले आफ्नो कार्यकालमा भएका प्रगति विवरण समेत प्रस्तुत गर्नुभएको थियो । आफ्नो नेतृत्वको सरकारले विपद् व्यवस्थापन, भौतिक पूर्वाधार विकास, पुँजीगत खर्च, राजश्व संकलनको क्षेत्रमा उल्लेख सुधार गरेको उहाँलको दाबी गर्नुभएको छ । प्राकृतिक विपतको समयमा क्षतिग्रस्त भौतिक पूर्वाधारको मर्मत सम्भारको लागि दु्रत प्रतिकार्य टोली गठन गरिएको उहाँले बताउनुभयो ।
आफ्नो कार्यकालमा २१ वटा रुग्ण आयोजनाको निर्माण सम्पन्न गरेको उहाँले दाबी गर्नुभयो । मुख्यमन्त्री लामाले आफ्नो नेतृत्वको सरकारले राजश्व संकलनमा पनि वृद्धि गरेको दाबी गर्नुभएको छ । यसैगरी आफ्नो एक वर्षे कार्यकालमा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन डिजिटलाईजेसन गर्ने प्रक्रियालाई सुरु गरिएको समेत उहाँले बताउनुभयो । सुशासन प्रवद्र्धनका निम्ति भ्रष्टाचार विरुद्धको प्रादेशिक कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउने कार्यक्रमहरुलाई प्राथमिकता दिएको उहाँको भनाई छ ।
मुख्यमन्त्री लामाले प्रदेशमा मात्र नभई स्थानीय तहसम्म पनि शासकीय सवलीकरण गर्ने दिशामा प्रदेश सरकार अगाडि बढेको दाबी गर्नुभयो । लामाले राजीनामा दिएसँगै बागमतीको मुख्यमन्त्री दलको नेताको रूपमा इन्द्र बानियाँ हुनेछन् । सत्तासाझेदार दल नेकपा एमालेसँग एकवर्षअघि भएको सरकारको नेतृत्व गर्ने समयावधिको सहमतिअनुसार अब हुने भनिएका मुख्यमन्त्री बानियाँले ८ महिना सरकार सञ्चालन गर्नेछन् ।














