बागमती प्रदेशको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

संवाददाता
२१ श्रावण २०८२, मंगलवार १५:२०

२० श्रावण, हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँ नियुक्त हुनुभएको छ ।
मंगलबार प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले बानियाँलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । बाँनियाले सोमबार नेपाली काँग्रेस र नेकपा एमालेका ६४ सांसदको समर्थन सहित मुख्यमन्त्री बन्नका लागी दाबी प्रदेश प्रमुख समक्ष पेश गर्नुभएको थियो । नवनियुक्त मुख्यमन्त्री बानियाँको शपथ ग्रहण आजै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
कांग्रेसकै बहादुर सिंहले आइतबार मुख्यमन्त्रीबाट राजीनामा घोषणा गरेर सोमबार प्रदेश प्रमुखको कार्यालयमा राजीनामा दर्ता गराउनुभएको थियो । लामाको राजीनामा स्वीकृत भए लगत्तै प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि २४ घण्टाको अर्थात मंगलबार दिउसो २ बजेभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।
कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

                                                                                                                           इन्द्रबहादुर बानियाँ को हुन् ?

ईन्द्रबहादुर बानियाँ नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय, खरो स्वभावका र स्पष्ट धारणा राख्ने नेताका रूपमा परिचित नाम हो । उहाँको राजनीतिक यात्रा, सामाजिक सक्रियता र नेतृत्व क्षमताले उहाँलाई प्रदेश राजनीतिमा अग्रपंक्तिको नेतृत्वमा पु¥याएको छ ।
स्व. क्षेमबहादुर बानियाँ र माता प्रेमकुमारी बानियाको कोखबाट २०२७ साल भदौं १५ गते मकवानपुरको हर्नामाडी–४, दियावतीमा जन्मनु भएका बानियाँ हाल हेटौँडा–५ सानोपोखरा र ललितपुरको धापाखेल–१ मा बसोबास गर्दै आउनु भएको छ । बानियाँले आफ्नो राजनीतिक यात्रा २०४४ सालमा सुरु गर्नुभयो । त्यसपछि २०५१ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुनुभयो ।
२०५२ सालमा नेपाल विद्यार्थी संघ मकवानपुर जिल्ला सहसचिव, २०५५ सालमा नेपाल तरुण दल मकवानपुरका सचिव र २०५६ सालमा तरुण दल जिल्ला अध्यक्ष बन्नुभयो । सोही वर्षदेखि नेपाली कांग्रेसको महासमिति सदस्यका ेजिम्मेवारीमा रहँदै आउनुभएको छ । २०५८ सालमा पार्टीको जिल्ला सदस्य बन्नु भएका बानियाँ २०६४ सालमा पहिलो संविधानसभा सदस्य निर्वाचनमा भने पराजित हुनुभयो । २०७० मंसिर ४ गतेको दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्ष तर्फबाट निर्वाचित हुनुभयो ।
बानियाँ २०७२ सालेदेखि २०७९ सम्म नेपाली कांग्रेस मकवानपुरको जिल्ला सभापतिको भूमिकामा रहनुभएको थियो । बानियाँ २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री नियुक्त हुनुभयो । सोहीवर्ष नै गृह राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो ।
२०७४ मंसिर २१ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं. १ (ख) बाट प्रत्यक्ष निर्वाचित भई प्रदेशसभा प्रवेश गर्नुभयो । त्यसपछि २०७४ पौष ३ गते काँग्रेस बागमती प्रदेश संसदीयदलको नेतामा सर्वसम्मत रूपमा चयन हुनुभयो । २०७८ सालमंसिर २० गतेदेखि हालसम्म नेपाली काँग्रेस बागमती प्रदेश सभापति हुनुहुन्छ । बाँनिया २०७९ मंसिर ७ गते प्रदेश सभा सदस्यमा पुनःनिर्वाचित हुनुभयो । २०८२ साउन १४ गते उहाँ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित हुनुभयो ।
राजनीतिक जीवनसँगै उहाँ सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील रहनुभएको छ। मकवानपुर उद्योग वाणिज्य संघ र मकवानपुर निर्माण व्यवसायी संघका सल्लाहकार, त्रिखण्डेश्वर महादेव संरक्षण तथा पर्यटन विकास समितिको अध्यक्ष, मकवानपुर बहुमुखी क्याम्पसको कार्यसमिति सदस्य र छात्रवृत्ति समितिको संयोजकको जिम्मेवारी सम्हालि सक्नुभएको छ । बानियाँ स्पष्ट विचार र खरो अभिव्यक्तिका लागि चिनिने नेता हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*