प्रदेशलाई भ्रष्टचारमुक्त बनाउन प्रतिबद्ध छुः मुख्यमन्त्री बानियाँ
२१ श्रावण, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशमा भ्रष्टचार हुन नदिने बताउनुभएको छ ।
बुधबार नारायणी यातायात व्यवसायी संघले आयोजना गरेको स्वागत एवम् सम्मान कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री बानियाँले आफु मुख्यमन्त्री हुँदा सम्म प्रदेशमा भ्रष्टचारको कुरा सुन्न नपर्ने बताउनुभयो । उहाँले प्रदेशलाई भ्रष्टचारमुक्त बनाउन आफु प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो । भ्रष्टचार गर्ने मन्त्री, कर्मचारी जो भएपनि कारवाहीको दायरामा ल्याउने मुख्यमन्त्री बानियाँले बताउनुभयो ।
यातयात व्यवसायीहरुलाई उत्साह जगाउने गरी काम गर्ने समेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री बानियाँले संघीय सरकारसंग समन्वय गरी जीर्ण अवस्थामा रहेका राष्ट्रिय राजमार्गहरुको मर्मतको लागि पहल गर्ने समेत बताउनुभयो । पथलैया हेटौंडा नारायणगढ सम्मको सडक विस्तारको कार्यलाई जति सक्दो छिटो सम्पन्न गर्नुपर्ने समेत उहाँको भनाई छ ।

मुख्यमन्त्री बानियाँले लोकतन्त्रमा निजी क्षेत्र विकासको मुल मेरुदण्ड हुने बताउनुभयो । निजी क्षेत्रलाई सरकार प्रति भरोस हुने गरी प्रमुखको हिसाबले काम गर्ने समेत उहाँले उल्लेख गर्नुभयो । मुख्यमन्त्री बानियाँले बागमती प्रदेशमा यातायात व्यवसायहरु धेरै भएको र समस्या पनि धेरै हुने भएकोले समस्या न्युनिकरणलाई प्राथमिकतामा राख्ने पनि जिकिर गर्नुभयो । उहाँले सरकारको पनि राजश्व बढ्ने र यातयात व्यवसायीको हित हुने विषयमा सरसल्लाह गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा संघका अध्यक्ष हिरालाल श्रेष्ठले यातायात व्यवसायको क्षेत्रमा रहेका समस्याहरुबारे मुख्यमन्त्री बानियाँलाई अवगत गराउनुभयो । पञ्जीकरण नाममा यातायात क्षेत्रमा भ्रष्टचारको सुरुवात भएको उहाँले बताउनुभयो । त्यसैगरी अध्यक्ष श्रेष्ठले हेटौडाको सडक विस्तारको विषयलाई पनि छिटो टुग्याउन मुख्यमन्त्री बानियाँलाई आग्रह गर्नुभयो । कार्यक्रममा महासचिव सरोज खनाल, सल्लाहकार माइकल रामचन्द्र अर्याल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट लगायतको आतिथ्यता रहेको थियो ।














