सृजना टोलको साधारणसभा सम्पन्न
२८ श्रावण, हेटौँडा । हेटौडा ६ चौघडामा रहेको सृजना टोल विकास संस्थाको २४ औ वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ ।
साधारणसभाको बन्दसत्रले पुन जिव कुमारी पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा सुनिता पौडेल, सचिवमा टुककुमारी चौलागाई, सहसचिवमा शान्ति चौलागाई र कोषाध्यक्षमा देवकी तिवारी चयन भएका छन । यसैगरी सदस्यहरुमा अप्सरा दुलाल, कविता कडेल, गीता ढकाल र कमला कार्की चयन भएका छन ।
नयाँ कार्यसमिति चयनको लागि टोल विकास संस्था नगर समन्वय समिति उपाध्यक्ष सति न्यौपानेको संयोजकत्वमा ६ नं वडा भूगोल ईन्चार्ज गोमा लामिछाने र जनकल्याण सहकारीका कोषाध्यक्ष चेतनाथ खतिवडा सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । साधारणसभामा संस्थाकी अध्यक्ष जीव कुमारी पौडेलले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष देवकि तिवारीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
साधारणसभामा संस्थाले गरेका विभिन्न गतिविधिलाई प्रचारप्रसार गराई लोकप्रियता बढाउन सहयोग गर्ने सञ्चारकर्मी भीमसेन पौडेल, सहयोगी संस्था जनकल्याण बचत तथा ऋण सहकारी संस्था, ज्येष्ठ सदस्य नानीमैयाँ चौलागाई र असली कारोवारी मिरा लामालाई पुरस्कृत गरिएको थियो । हेटौडा ६ का वडा सदस्य विजय पौडेलको प्रमुख आतिथ्यता एवम संस्था अध्यक्ष जीव कुमारी पौडेलको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
४४ लाख बचत रहेको संस्थाले ३७ लाख ऋण लगानी गरेको छ । ९० घरधुरी रहेको संस्थामा १ सय ६५ सदस्य आवद्व रहेको सचिव टुककुमारी चौलागाईले बताईन । साधारणसभामा टोल विकास संस्था नगर समन्वय समिति उपाध्यक्ष सति न्यौपाने, ६ नं वडा भूगोल ईन्चार्ज गोमा लामिछाने , जनकल्याण सहकारी कोषाध्यक्ष चेतनाथ खतिवडा, प्रहरी चौकी चौघडा ईन्चार्ज अर्जुन देवकोटा, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको आतिथ्यता थियो ।














