पत्रकार महासंघ र सञ्चारिकालाई सहयोग स्वरूप सामग्री हस्तान्तरण
२ भाद्र, हेटौँडा । प्रेस युनियन मकवानपुर शाखाले नेपाल पत्रकार महासंघ र सञ्चारिका समूह मकवानपुरलाई सहयोग स्वरूप सामग्री हस्तान्तरण गरेको छ ।
पत्रकार महासंघ मकवानपुरको सभाहलमा सोमबार आयोजित एक कार्यक्रममा युनियनले महासंघ मकवानपुर शाखालाई ४ थान पंखा र सञ्चारिका समूहलाई १० थान कुर्सी प्रदान गरेको हो । प्रेस युनियनको एक सय दिने सदस्यता वितरण अभियानलाई रचनात्मक बनाउने उद्देश्यले यी सामग्रीहरू प्रदान गरिएको प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै सभापति लामाले प्रेस स्वतन्त्रता विरोधी कुनै पनि गतिविधि नेपाली काँग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । पत्रकार बिनाको समाजको परिकल्पना गर्न नसकिने बताउँदै उहाँले सूचनाविहीन अवस्था निरंकुश शासन व्यवस्थामा मात्र रहने धारणा राख्नुभयो । पत्रकारिता पेशा एक महत्वपूर्ण जिम्मेवारी भएको उल्लेख गर्दै सभापति लामाले देशमा रहेका विकृतिहरू रोक्ने सामथ्र्य पत्रकारहरूमा मात्र रहेको बताउनुभयो । उहाँले मर्यादित र सही ढंगले पत्रकारिता गर्न आग्रह समेत गर्नुभयो ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले पछिल्लो समय पत्रकारमाथि प्रश्न उठ्ने गरेकोमा चिन्ता व्यक्त गर्नुभयो । पत्रकारहरूले सधैँ सत्ताको कुशल प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रश्न उठाउने वातावरण पत्रकारबाटै सिर्जना भएको हो कि भन्ने आशंक जनाउँदै उहाँले पत्रकारिताको अनुशासन र दायराभित्र रहेर काम गर्न आग्रह गर्नुभभयो ।
यसैगरी पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले सरकारले प्रेस स्वतन्त्रतामा अंकुश लगाउने कार्य गरिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । यस विषयमा सशक्त रूपमा आवाज उठाउनुपर्ने उहाँले बताउनुभयो । पेशागत मर्यादालाई जोगाउन मर्यादित पत्रकारिता आजको आवश्यकता रहेकोमा उहाँको जोड थियो । पेशागत हकहित र सुरक्षाका विषयमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष अधिकारीले नेपालको संविधानले समेत पूर्ण प्रेस स्वतन्त्रता प्रदान गरेको स्मरण गराउनुभयो ।
नेपाल प्रेस युनियन मकवानपुरका उपाध्यक्ष कपिल खड्काको संयोजकत्वमा भएको हस्तान्तरण कार्यक्रममा नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहाल, पूर्व केन्द्रीय सदस्य गिरिजा अधिकारी, प्रदेश सदस्य गंगाप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका बागमती प्रदेश संस्थापक प्रदेश अध्यक्ष तथा वरिष्ठ पत्रकार प्रताप विष्ट, प्रदेश उपाध्यक्ष हरि हुमागाईं, अग्रज पत्रकार रामकुमार एलन, सञ्चारिक समूह नेपाल बागमती प्रदेश महासचिव नानीमैया सापकोटा र मकवानपुर अध्यक्ष निशा गुरुङ लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।














