प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवद्र्धन कोषको शुभारम्भ
५ भदौ, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले स्थापना गरेको महिला पत्रकार प्रजनन स्वास्थ्य तथा सुरक्षित सुत्केरी प्रवद्र्धन कोषको बिहीबार औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।
महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य उपचार र सुरक्षित सुत्केरी प्रवद्र्धनका लागि सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषको हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको हो । कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख लामाले महिला पत्रकारहरूको प्रजनन स्वास्थ्य र सुरक्षित सुत्केरीका लागि महासंघले यस्तो कोष स्थापना गर्नु निकै प्रशंसनीय कार्य भएको बताउनुभयो ।
उहाँले उपमहानगर महिलाको विषयमा निकै संवेदनशील रहेको उल्लेख गर्दै यो कोषले महिला पत्रकारहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । नगर प्रमुख लामाले हेटौंडा उपमहानगरपालिकाको तर्फबाट कोषमा पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख राजेश बानियाँले महिला पत्रकारहरूका लागि यो कोष सञ्चालन गर्नु ऐतिहासिक कदम भएको धारणा राख्नुभयो । राज्यले महिलालाई प्राथमिकतामा राखेर काम गरिरहेको सन्दर्भलाई जोड्दै उहाँले उपमहानगरपालिका महिलाका विषयमा सहयोग गर्न सधैं तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।
नगर प्रमुख लामा र उपप्रमुख बानियाँले व्यक्तिगत तर्फबाट कोषमा १०÷१० हजार रुपैयाँ सहयोग गर्ने घोषणा समेत गर्नुभयो । त्यसैगरी, महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी र ब्रोडकस्टिङ एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष उज्ज्वल चौलागाईंले पनि कोषको प्रवद्र्धनका लागि १०÷१० हजार रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार प्रताप विष्टले २ हजार र पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान उपाध्यक्ष सम्झना कार्कीले २ हजार रुपैयाँ सहयोग गर्नुभयो । यसका साथै महासंघ मकवानपुर शाखाको कार्यसमितिको तर्फबाट ११ हजार रुपैयाँ कोषमा जम्मा भएको छ । कोषले मकवानपुरका महिला पत्रकारहरूको प्रजनन स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण टेवा पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रममा स्वास्थ्यकर्मी महासंघ मकवानपुरको तर्फबाट पत्रकार महासंघका लागि स्यानीटरी प्याड, सुत्केरी महिला पत्रकारका लागी खाद्य सामग्री प्रदान गर्नुभएको छ । सहयाेगी मन नेपालले पनि महासंघलाई ब्लड प्रेस नाप्ने उपकरण सहयाेग गर्नुका साथै प्रत्यक सुत्केरी पत्रकारलाई ५ लिटर तेल सहयाेग गर्ने घाेषणा गरेकाे छ ।














