मकवानपुरमा फिफा फुटबल फर स्कूल्स कार्यक्रम शुभारम्भ
२० भाद्र, हेटौँडा । ६ लाख विद्यार्थीको खुट्टामा बल पु¥याउने लक्ष्य सहित सञ्चालित फिफा फुटबल फर स्कूल्स कार्यक्रम मकवानपुरमा पनि सुरुवात गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यक्रम अन्तर्गत मकवानपुर जिल्ला फुटबल संघको आयोजनमा हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएको कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नुभएको हो ।
फिफा र युनेस्कोको सहयोगमा सञ्चालित कार्यक्रमले विश्वभरका ४ देखि १४ वर्ष उमेर समूहका ७० करोड बालबालिका माझ फुटबल पु¥याउने लक्ष्य फिफाले लिएको छ । यो कार्यक्रम नेपालको ७७ जिल्लाका १ हजार ७२ विद्यालयमा लागू हुने एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले जानकारी दिनुभयो । यसकार्यक्रम अन्तर्गत कुल ३२ हजार ६ सय ४० वटा फुटबल वितरण गरिने उहाँले बताउनुभयो । मकवानपुर जिल्लामा २२ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालन हुनेछ । अध्यक्ष नेम्वाङले यो कार्यक्रम बालबालिकाको समग्र विकासका लागि वृहत् पहल भएको बताउनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले खेलकुदको समग्र विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले गौरीटार रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्ने गरि निर्माण सम्पन्न गरिने प्रतिबद्धता जनाउनुभयो । फुटबल अब राष्ट्र र स्वास्थ्यका साथै शिक्षासँग पनि जोडिएको बताउँदै मुख्यमन्त्री बानियाँले विद्यालयका विद्यार्थीलाई फुटबलसँग जोड्न एन्फाले गरेको प्रयास सराहनीय भएको उल्लेख गर्नुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा सञ्चालित यो कार्यक्रमले सबै वर्ग, जाति र भूगोलका बालबालिकालाई फुटबलमार्फत रमाइलो र व्यवहारिक सिकाइ प्रदान गर्नेछ ।
यसैबीच, गत असोजको पहिरोमा परी निधन भएका १४ वर्षमुनिका खेलाडी अनुपम घलान, साईमन योन्जन, दिवस बानिया, आदित्य बलम्पाकी, प्रिन्स आचार्य र बिकल रेग्मीको स्मृतिमा यु–१४ विद्यालयस्तरीय मकवानपुर जिल्ला क्वालिफाइ छात्र फुटबल प्रतियोगिता पनि सुरु भएको छ । उक्त प्रतियोगिता भदौ २८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।














