निजामती सेवा दिवसको पूर्वसन्ध्यामा वृक्षारोपण
२१ भाद्र, हेटौँडा । २२ औं निजामती सेवा दिवसको पूर्वसन्ध्यामा हेटौंडा–१६ स्थित जनप्रिय माध्यमिक विद्यालय परिसरमा शनिबार फलफूल तथा अलंकारिक बिरुवा रोपण कार्यक्रम गरिएको छ ।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव भुपाल बरालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचिव बरालले निजामती सेवालाई सबै सार्वजनिक सेवाहरूको मार्गदर्शक सेवाको रूपमा संज्ञा दिनुभयो । उहाँले निजामती सेवा दिवस केवल निजामती कर्मचारीको मात्र नभई सम्पूर्ण राष्ट्रसेवकहरूको साझा दिवस भएको धारणा व्यक्त राख्नुभयो । संसदको दुबै सदनबाट पारित हुने क्रममा रहेको निजामती कर्मचारी विधेयकले प्रादेशिक र स्थानीय तहका सेवाहरूलाई पनि मार्गदर्शन गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । ऐन आएपश्चात् निजामती क्षेत्रमा देखापर्ने सबै समस्याहरू तत्काल समाधान नभए पनि, यसले नीतिगत पक्षलाई स्पष्ट पार्ने उहाँले दाबी गर्नुभयो ।
यसैगरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले निजामती सेवा दिवसलाई आफूले गरेका कार्यहरूको मूल्यांकन गर्ने अवसरको रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले समाजमा कर्मचारीप्रति नकारात्मक धारणा बन्नुमा कर्मचारीकै आचरण पनि एक कारण रहेको औंल्याउनुभयो । उहाँले इमान्दारिता र जवाफदेहिताबाट मात्र सेवालाई सक्षम र प्रभावकारी बनाउन सकिने धारणा राख्नुभयो ।
निजामती सेवामा जनउत्तरदायित्व, इमान्दारिता र जवाफदेहिताको आवश्यकतालाई प्रमुखता दिँदै उहाँले पारदर्शिता र कार्यक्षमता वृद्धि गर्न कर्मचारी स्वयं जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । कर्मचारीहरूले जनताको मनमा बस्ने गरी काम गर्नुपर्ने र सेवाप्रति समर्पित भई सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा आधिकारिक ट्रेड युनियन मकवानपुरका सचिव बसन्त गौतमले प्राविधिक र प्रशासनिक क्षेत्रमा राजनीतिक हस्तक्षेप हुने गरेको गुनासो राख्नुभयो । सो अवसरमा लिची, आँप, एभोकाडो लगायतका विभिन्न जातका फलफूल तथा अलंकारिक बिरुवाहरू रोपण गरिएको थियो । वृक्षरोपण कार्यक्रममा प्रदेश प्रहरी प्रमुख अरुण पौडेल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता श्यामु अर्याल लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुकोे उपस्थिती थियो ।














