१० देखि १८ वर्ष उमेर समूहका बालबालिका लक्षित सचेतनामूलक कार्यक्रम
२२ भाद्र, हेटौँडा । समाजमा बढ्दो लागूऔषध र मदिराको प्रयोगले बालबालिकाहरूमा पर्न सक्ने गम्भीर असरप्रति सचेतना प्रदान गर्ने उद्देश्यले सिविन बाल हेल्पलाइनले सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–८ को वडा कार्यालय र वडा स्तरीय बाल सञ्जाल समूहको समन्वयमा आइतबार सचेतनामूलक कार्यक्रम गरिएको हो । लागूऔषध र मदिराको प्रयोग विरुद्धको सचेतनात्मक कार्यक्रम टोल–टोलसम्म पु¥याउने उद्देश्यले १० देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरूलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको सिविनका प्रबन्धक झविन्द्र ज्ञवालीले बताउनुभयो । कार्यक्रममा प्रबन्धक ज्ञवालीले लागूऔषध र मदिराको सेवनले बालबालिकाहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा पार्ने नकारात्मक प्रभावहरूबारे प्रस्तुतीकरण दिनुभएको थियो ।
उहाँले लागूऔषध र मदिराको दुव्र्यसनबाट कसरी बच्ने, बालबालिकाहरूको आफ्नो कर्तव्य र दायित्वहरू के–के हुन्, महिला तथा बालअधिकारका महत्वपूर्ण पक्षहरू र समस्याहरूको समाधान कसरी गर्ने भन्ने विषयमा जानकारी गराउनुभएको थियो । साथै, टोल स्तरीय बाल सञ्जालको वार्षिक कार्यदिशा र यसको प्रभावकारी कार्यान्वयनको आवश्यकतामा पनि जोड दिनुभएको थियो ।
सचेतनामूलक अभियान केवल एक दिनको कार्यक्रम नभई, यसलाई निरन्तरता दिदै प्रत्येक टोल–टोलमा पु¥याउने लक्ष्य राखिएको प्रबन्धक ज्ञवालीले बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहनुभएका हेटौंडा उपमहानगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण थापाले यस्ता सचेतनामूलक कार्यक्रमहरू घर–घरसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
बालबालिकालाई लागूऔषध तथा मदिराको दुव्र्यसनबाट जोगाउन स्थानीय निकाय, विद्यालय, अभिभावक र स्वयं बालबालिकाहरू सचेत हुन आवश्यक रहेको बताइएको छ । वडा बाल सञ्जालकी अध्यक्ष सुप्रिया मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका बाल कल्याण अधिकारी विना थिङ लगायतको उपस्थिती थियो ।














