राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै हेटौंडामा प्रदर्शन
२६ भदौ, हेटौँडा । हेटौंडामा संविधान रक्षाको माग गर्दै युवाहरू शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् ।
हेटौंडाको मुख्य बजार क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दल निकट युवाहरूले संविधान रक्षा, नागरिक सर्वाेच्चता कायम, सैनिक शासन चाहिँदैन र राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर भन्दै नाराबाजी गरेका हुन् । निषेधाज्ञा भईरहेकोले प्रदर्शन रोक्न नेपाली सेना अग्रभागमा खटिएको छ । सेनाले रोक्न खोज्दा पनि युवाहरू प्रतिकारमा उत्रिँदै सडकमा नारा लगाईरहेका थिए ।
प्रदर्शन नेपाली कांग्रेस मकवानपुरका सचिव इश्वर पाठक, एमाले निकट राष्ट्रिय युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटीलगायतका युवाहरूको नेतृत्वमा भएको हो । उनीहरुले हुप्रा चौरबाट ¥याली सुरु गरी मेनरोड, बैंक रोड हुँदै सिमाचोकमा गएर कोणसभा गरेका थिए । कोणसभा सकेर युवाहरूले स्कुल रोड पारिजात पथबाट पुनः हुप्रा चौर पुगेर प्रदर्शन सम्पन्न गरेका थिए ।सीमाचोकमा भएको कोणसभालाई सम्बोधन गर्दै युवा संघ अध्यक्ष नगरकोटीले संविधान रक्षाका लागि सुरू भएको प्रदर्शन नरोकिने र हजारौं सडकमा उत्रिने चेतावनी दिए । प्रदर्शनमा उत्रिका युवाहरूले सार्वजनिक र व्यक्तिगत सम्पति तोडफोड र आगजनी भएको विरोध जनाउँदै दोषि पत्ता लगाएर कारबाही गर्न माग गरेका छन् ।














