भाटभटेनीको सरसफाईमा जुटे कर्मचारी
२९ भाद्र, हेटौँडा । जेन जी आन्दोलनको क्रममा भएको आगजनीबाट ध्वस्त बनेको हेटौंडा १, चौकीटोलस्थित भाटभटेनी सुपरमार्केटको सरसफाईमा कर्मचारीहरू नै जुटेका छन् ।
गत भदौ २४ गते आन्दोलनका क्रममा उत्तेजित समूहले भाटभटेनीमा आगो लगाएर ध्वस्त पार्नुका साथै त्यहाँ रहेका सामानहरू समेत चोरेका थिए । आफूहरूलाई काम र रोजगारी प्रदान गर्ने संस्थालाई पुनः उकास्नका लागि कर्मचारीहरु सुपरमार्केटको सरसफाइमा जुटेका हुन् । सरसफाइ कार्यक्रम १० दिनसम्म चल्ने ब्रान्च म्यानेजर एन्जु मगरले जानकारी दिनुभयो ।
सुपरमार्केटमा भएको आगजनीबाट भएको क्षतिको मूल्यांकनको कार्य अझै जारी रहेको उहाँले बताउनुभयो । भाटभटेनीले आफ्नो २० औं स्टोरको रूपमा २०७८ साल मंसिर महिनामा हेटौंडामा सेवा शुभारम्भ गरेको थियो ।
साढे १४ कट्ठा क्षेत्रफलमा फैलिएको यो स्टोरमा दुईवटा बेसमेन्ट र आठ तलाको भवन रहेको थियो । आगजनीको उक्त भवन पूर्ण रूपमा जलेको छ । भाटभटेनीले मकवानपुर जिल्लाका १ सय ५९ जनालाई रोजगारी प्रदान गरिरहेको थियो ।














