शास्त्रीय विधिअनुसार हेटौँडामा फुलपाती भित्राईयो

संवाददाता
१३ आश्विन २०८२, सोमबार १८:०८

१३ असोज, हेटौँडा । बडा दशैंको मुख्य दिन आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्राएर मनाइँएको छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । यसैबीच, हेटौंडा उपमहानगरपालिका १० स्थित गोरेक्षश्वर मन्दिरमा राखिएको जमरासहितको शोभायात्राको टोलीले हेटौंडा २ स्थित वनस्खण्डी र हेटौंडा १० स्थित भुटनदेवी मन्दिरमा विधिपूर्वक फूलपाती भित्र्याएको छ ।
भूटनदेवी मन्दिरमा बिहान र वनस्खण्डीमा दिउँसो डोलीमा राखेर फूलपाती भित्र्याइएको हो । भूटनदेवी मन्दिरमा विगत ९ वर्षदेखि र वनसखण्डी मन्दिरमा विगत ३० वर्षदेखि सुरक्षा निकायको सलामी तथा वडाई सहित फूलपाती भित्राइँदै आइएको दुबै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठले बताउनुभयो ।


फुलपाती भित्राउने कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण पौडेलको विशेष उपस्थिती रहेको थियो भने वनस्खण्डीमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ सहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकारीहरू, स्थानीय समाजसेवी, धार्मिक भक्तजन र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू गोरेक्षश्वर मन्दिरमा पुगेर यस शुभकार्यमा सहभागी भएका थिए । यस शोभायात्रामा नेपाली सेनाको बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजाले विशेष आकर्षण थपेको थियो ।
साथै, विभिन्न झाँकी र धार्मिक भक्तजनहरूको उत्साहपूर्ण सहभागिताले रहेको थियो । आजको दिन नै हेटौंडा २ स्थित जलेश्वर महादेव मन्दिरुमा पनि फूलपाती भित्राइएको छ । नेवारी बाजा सहित गारक्षेश्वर मन्दिरबाट ल्याइएको फूलपाति विधिपूर्वक भित्राइएको हो । सप्तमी लागेसँगै मकवानपुरका विभिन्न शक्तिपीठहरूमा भक्तजनहरुको भीँड बढेको छ । शक्तिपीठको रूपमा चिनिने भुटनदेवी, चुरियामाई, पाथिभरा, मनकामना, कर्रा स्थित दुर्गा भवानी मन्दिरहरूमा भक्तजनको उल्लेख्य उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*