आग्राबाट ल्याइएको फुलपाती पालुङको दशैं घरमा भित्राईयो

संवाददाता
१३ आश्विन २०८२, सोमबार २०:१०

१३ असोज, हेटौँडा । पालुङको ऐतिहासिक दशै घरमा फुलपाती भित्राइएको छ । मकवानपुरको आग्राबाट फुलपाती ल्याएर थाहानगरको पालुङ स्थित दशै घरमा भित्र्याउने परम्परा अनुसार बढाइसहित फुलपाती भित्र्याइएको हो ।
नगरका जनप्रतिनिधिहरुको उपस्थितीमा इलाका प्रहरी कार्यालय पालुङले शुभ साइतमा बढाई गरी दशै घरमा फुलपाती भित्राइएको हो । आग्राको चल्तीबाट अर्यालहरुले पालुङको मत्स्यनारायणसम्म बेलपत्र सहितको फुलपाती ल्याउने र त्यहाँबाट स्थानीय मगर, नेवार, भुजेल, ब्राम्हण सहितको सातजना कर्ताहरुले पालुङको फुलपाती चौरसम्म बाजागाजा सहित ल्याउने परम्परा छ ।
डोलीमा राखेर हर्षोल्लासका साथ ल्याइने फलुपातीले थाहानगरमा दशैं आएको संकेत गर्दछ । दशैमा मात्र प्रयोगमा आउने पालुङको खोला किनारामा रहेको उक्त चौरलाई सबैले फुलपाती चौरको नामले चिन्छन् । फुलपाती चौरमा ल्याइएको फुलपातीलाई पुजाविधि अनुसार शुभ साइतमा बली सहित बढाई गरेपछि पालुङको दशै घरमा फुलपाती भित्राउने पुरानो चलन हो ।
शुभ साइतको बढाईको कार्यक्रमलाई इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्यालले संयोजन गरेका थिए । परापूर्व कालदेखिदेखि नै संचालन हुँदै आएको परम्परा तत्कालिन प्रधानपञ्चको नेतृत्वमा हुँदै आएको भए पनि मुलुकमा बहुदल आएपछि दामनपालुङ आर्थिक विकास सहयोग समितिले व्यवस्थापन गर्दै आएको थियो । हाल उक्त परम्परालाई थाहा नगरपालिकाले सहयोग गर्दै आएको छ । पालुङ स्थित दशै घरमा फुलपाती भित्राएपछि स्थानीयहरुले घरघरमा फुलपाती लगेर आफ्नो घर–घरमा लगि भित्र्याउने परम्परा छ ।
त्यसोतः स्थानीय गुठीहरु तथा थाहानगर प्रमुख विष्णु विष्ट र उपप्रमुख भरत गोपालीलाई घरमा भित्र्याउनको लागि दशैघरबाट फुलपाती पठाइएको छ । यस संस्कृति र परम्परा जोगाउँदै धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा नगरलाई विकास गर्न समेत सघाउ पुग्ने भएकोले पुरानो परम्परा ब्युताउन सहयोग पुग्ने नगर प्रमुख विष्णु विष्टले प्रतिक्रिया दिनुभयो । पुरानो परम्परामा नै पहिचान हुने भएकोले यस्तो चालचलन जोगाउन सँधै प्रतिवद्ध हुने उहाँको भनाइ थियो । फुलपाती भित्र्याउने कार्यक्रममा नगर प्रमुख विष्णु विष्ट, थाहा–२ का वडा अध्यक्ष बम बहादुर सिन्तानको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा वडा सदस्यहरु, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल , पूर्व जनप्रतिनिधि श्यामभक्त श्रेष्ठ तथा पत्रकार र सुरक्षा निकाय लगायत स्थानीयको उपस्थिती उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*