हेटौँडाबाट काठमाडौं प्रवेश गर्ने छोटा मार्गहरूमा रातिको समयमा सवारी सञ्चालनमा रोक
२० असोज, हेटौँडा । लगातारको अविरल वर्षापछिको बाढी र पहिरोले सुरक्षा चुनौती बढेको भन्दै हेटौँडाबाट काठमाडौं प्रवेश गर्ने छोटा मार्गहरूमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सूचना नै निकालेर साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाएको जानकारी गराएको छ । यसअघि पनि प्रशासन र प्रहरीको समन्वयमा गत शनिबारदेखि नै रातको समयमा हेटौँडालाई काठमाडौंसँग जोड्ने छोटो दूरीका मार्गहरूमा सवारी आवागमनमा रोक लगाइएको थियो । सोमबार भने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले सूचना जारी गर्दै त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ हुँदै बल्खु र हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै बल्खु पुग्ने मार्गहरूमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको जानकारी दिनुभयो । प्रशासकीय अधिकृत न्यौपानेका अनुसार असोज १७ र १८ गते परेको भारी वर्षापछि सडक सुधारको काम भइरहेको भए पनि जोखिम यथावत् रहेकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि हेटौँडाबाट काठमाडौं प्रवेश गर्ने छोटा मार्गहरूमा साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाएको हो ।
उहाँले अत्यावश्यक सेवाका सवारीसाधनलाई भने विनारोकटोक आवागमन गर्न दिइने बताउनुभयो । अधिकृत न्यौपानेले यात्रु र चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र उच्च सतर्कता अपनाउन अनुरोध गर्नुभयो ।
वर्षाको कारण केही समय अवरुद्ध भएका त्रिभुवन राजपथ र भीमफेदी–कुलेखानी–फाखेल तथा भीमफेदी–कुलेखानी–सिस्नेरी मार्ग हाल नियमित छन् भने कान्ति लोकपथ पनि एकतर्फी सञ्चालनमा आएको छ । कान्ति लोकपथको बकैया गाउँपालिका– ११ सिमात घुम्तीमा पहिरोका कारण अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि सोमबार अपराह्नबाट सञ्चालनमा आएको हो ।














