हेटौंडा उपमहानगरपालिकाको हलमा बागमती प्रदेशसभा बैठक सञ्चालनको तयारी

संवाददाता
२२ आश्विन २०८२, बुधबार १६:२६

२२ असोज, हेटौँडा । जेनजी आन्दोलनका क्रममा नयाँ र पुरानो दुवै भवन जलेर नष्ट भएपछि बागमती प्रदेशसभा सचिवालयले हेटौंडा उपमहानगरपालिकाको हलमा संसद बैठक सञ्चालन गर्ने तयारी गरेको छ ।
दुवै भवन प्रयोग गर्न अयोग्य भएपछि सचिवालयले वैकल्पिक हलको खोजी गरेको हो । हाललाई अस्थायी रूपमा उपमहानगरपालिका कार्यालयको पछाडि रहेको सभाहलमा बैठक सञ्चालन गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले बताउनुभयो । उक्त हलमा पनि आन्दोलनका क्रममा आगजनी हुँदा केही सिसा फुटेका भए पनि आवश्यक मर्मत गरेपछि प्रयोग गर्न सकिने अवस्थामा रहेको जनाइएको छ । प्रदेश सरकारकै लगानीमा बनेको सो हल बैठकका लागि उपयुक्त हुने सम्भावना रहेको पौडेलले बताउनुभयो ।


प्रदेशसभा सचिवालयको टोलीले उक्त हलको निरीक्षण गरिसकेको छ । प्रदेश सभाबाट आधिकारिक पत्र प्राप्त हुने बित्तिकै, उपमहानगरपालिकाको बैठक बसेर हल प्रयोगको अनुमति दिने प्रवक्ता सविन न्यौपानेले बताउनुभयो ।
सचिवालयले बैठक सञ्चालनका लागि आवश्यक पर्ने कुर्सी, साउण्ड सिस्टमदेखि प्रत्यक्ष प्रशारण उपकरणसम्मका सामग्रीहरूको व्यवस्थापन गर्नुपर्नेछ । तत्कालका लागि, यी सामग्रीहरू भाडामा लिएर भए पनि बैठक सुचारु गर्ने तयारी भइरहेको सचिवालयले जनाएको छ । सभामुखको राजीनामा पछि नयाँ सभामुखको चयन प्रक्रियालाई अगाडि बढाउनका लागि पनि बैठक बस्नैपर्ने बाध्यकारी अवस्था रहेकोे छ ।
सचिवालयले जनाएअनुसार, हाल अधिवेशन अन्त्य नभइसकेकोले अब बस्ने बैठकमा उपसभामुखले सभामुखको राजीनामा पत्र वाचन गरेर सुनाउनुहुनेछ भने नयाँ सभामुख चयन प्रक्रियालाई अगाडि बढाइने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*