विपद्बाट बागमतीमा २६ वटा स्थानीय तहका १ सय ६२ परिवार प्रभावित

संवाददाता
२२ आश्विन २०८२, बुधबार १७:०१

२२ असोज, हेटौँडा । असोज १८ गतेको भारी वर्षाका कारण बागमती प्रदेशभर ३५ वटा विपद्का घटना भएका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको विवरणअनुसार २६ वटा स्थानीय तहका १ सय ६२ परिवार प्रभावित भएका छन् । काभ्रेपलाञ्चोकमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने रसुवामा बाढीका कारण चार जना बेपत्ता भएका छन् । ललितपुरमा पहिरोमा परी दुई जना र मकवानपुरमा चट्याङ लागेर एक जना घाइते भएका छन् । विपद् व्यवस्थापन महाशाखा प्रमुख सुरेश खनालका अनुसार यी घटनाबाट करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण अद्यावधिक भइरहेको हुँदा भौतिक क्षतिको अंक अझै बढ्न सक्ने उहाँले बताउनुभयो ।
गत वर्ष असोज ११ र १२ गते बागमती प्रदेशमा सबैभन्दा बढी क्षति भएको थियो । सो अनुभवका आधारमा यस वर्ष जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकारले पर्याप्त पूर्वतयारी गरेका छन् । मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षको सुरुवातमै ५ करोड ४० लाख रुपैयाँ बजेट स्थानीय तहका लागि निकासा गरेको थियो ।
प्रदेश विपद् व्यवस्थापन परिषद्को निर्णयअनुसार २१ वटा स्थानीय तहलाई पूर्वतयारीका लागि २ करोड १० लाख रुपैयाँ र जोखिमयुक्त क्षेत्र संरक्षणका लागि १६ वटा स्थानीय तहलाई २ करोड ६५ लाख रुपैयाँ उपलब्ध गराइएको छ । साथै, १३ वटै जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल खोज, उद्धार तथा राहतका लागि ५ लाखका दरले ६५ लाख रुपैयाँ वितरण गरिएको थियो ।
मनसुन पूर्वतयारीका क्रममा प्रदेशका १६ वटा पालिकामा विपद् उद्धार सामग्री पठाइएको छ भने मौज्दात सामग्री प्रदेशका तीनवटा गोदाममा सुरक्षित राखिएको छ । विपद् न्यूनीकरण तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकारले सम्बन्धित मन्त्रालय, जिल्ला प्रशासन र सुरक्षा निकायहरूको संयोजनमा युनिफाइड टिम सेमत गठन गरेको थियो । यसै टिमको सक्रियतामा सिस्नेरी–हुमाने लगायतका प्रादेशिक सडकहरूमा गएको पहिरो २४ घण्टाभित्रै हटाएर सडक सञ्चालनमा ल्याइएको थियो । प्रदेश, जिल्ला प्रशासन र स्थानीय तहबीच समन्वय गरेर विपद् प्रतिकार्यलाई अझ प्रभावकारी बनाउने योजना रहेको मन्त्रालयले जनाएको छ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा विपद् व्यवस्थापन कोषमा १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*