नागरिक र प्रहरीबीच सहकार्य जरुरीः प्रहरी प्रमुख पौडेल

संवाददाता
१ कार्तिक २०८२, शुक्रबार १६:२४

३१ असोज, हेटौँडा । बागमती प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले नागरिक र प्रहरीबीचको सहकार्य जरुरी रहेको बताउनुभएको छ ।
७० औं प्रहरी दिवसको अवसरमा शुक्रबार हेटौंडा ११ थानाभ¥याङ स्थित प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रहरी प्रमुख पौडेलले नागरिक र प्रहरीको सहकार्यबाटै अपराध रोकथाम र न्युनिकरण गर्न सकिने बताउनुभयो ।
नागरिकको सहयोगबाट नै प्रहरीले गर्ने अनुसन्धानमा सफलता मिल्ने उहाँले बताउनुभयो । प्रहरी प्रमुख पौडेलले प्रहरी संगठनको भौतिक संरचना निर्माण र आन्दोलनको क्रममा लुटिएका हतियारहरु जोगाउन नागरिकको ठुलो भुमिका रहेको उल्लेख गर्नुभयो ।
प्रहरी प्रमुख पौडेलले देशभित्र आपतविपत आइपरेको बेला प्रहरी अग्रपंक्तिमा रहँदै आएको बताउनुभयो । द्वन्द्वकाल, महामारीको समयमा समेत उच्च मनोबलका साथ प्रहरी जनताको सेवामा लागेको उहाँले उल्लेख गर्नुभयो ।
प्रहरी प्रमुख पौडेलले जनतालाई सर्वोपरी ठान्दै राष्ट्रसेवामा समर्पित हुँदा प्रहरी संगठनले धेरै अपुरणीय क्षति व्यहोर्नुपरेको समेत बताउनुभयो । सत्य सेवा सुरक्षणम् को मुल मर्मलाई आत्मसात् गर्दै भय र त्रासबाट मुक्त भई निष्पक्ष र पारदर्शी जनसेवाको लागि बागमती प्रदेश प्रहरी तत्पर भएको उहाँको भनाई छ ।


उहाँले जेनजी पुस्ताको भावना अनुरुप कार्यसम्पादन गर्न पनि प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।
प्रहरी प्रमुख पौडेलले गत भदौ २३ र २४ गतेको आन्दोलनबाट गिरेको मनोबललाई उच्च बनाई राष्ट्र र जनताको सेवामा समर्पित भइ काम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा प्रहरी संगठनबाट प्राप्त जिम्मेवारी बहन गर्ने क्रममा सहादत प्राप्त गर्ने अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्ने समेत गरिएको थियो । त्यसैगरी प्रहरी दर्पण कार्यक्रममा मार्फत सुरक्षित समाज निर्माणमा भुमिका खेलेको भन्दै टिम टेलिभिजन र नेशनल गोल्ड टेलिभिजनलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा, प्रहरी उपरिक्षक डिल्लीराज पाण्डे, ढकेन्द्र खतिवडा, भीम किरण बोगटी लगायत पूर्व प्रहरी कर्मचारी लगायतको उपस्थिति रहेको थियो । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*