मुख्यमन्त्री बानियाको सहयोगमा निर्मित घर हस्तान्तरण
२ कार्तिक, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाको आर्थिक सहयोगमा मनहरी गाउँपालिका–९ ज्यामिरेकी विपन्न दलित महिला मिठुमाया सुनारका लागि निर्माण गरिएको घर आइतबार हस्तान्तरण गरिएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि आफ्नो निर्वाचन क्षेत्रका विपन्न नागरिकका लागि घर निर्माण गर्ने घोषणा गर्नुभएका बानियाले सोही अनुसार पहिलो घर हस्तान्तरण गर्नुभएको हो । गाउँपालिकाको सिफारिसका आधारमा अत्यन्त विपन्न अवस्थामा रहेकी मिठुमायाको लागि मुख्यमन्त्री बानियाले आफूले पाउने सेवा–सुविधा र व्यक्तिगत खर्चबाट चार लाख ६५ हजार रुपैयाँ खर्च गरी घर निर्माण गराउनुभएको हो ।
५ धुर ऐलानी जग्गामा निर्माण गरिएको आरसीसी संरचनाको तीन कोठे घर सरकारी अनुमान अनुसार करिब सात लाखको लागतमा बन्ने अनुमान गरिएको थियो । घर हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले राजनीति समाज सेवाको माध्यम भएको उल्लेख गर्दै बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेशभरिका एक हजार विपन्न नागरिकका लागि घर निर्माण गर्ने योजना अघि बढाएको जानकारी दिनुभयो ।
तीनवटा घर आफूले पाउने सेवा–सुविधाबाट निर्माण गरिएको बताउँदै बाँकी ९ सय ९७ घर प्रदेश सरकारले विधिपूर्वक प्रक्रिया मार्फत निर्माण गर्ने मुख्यमन्त्रीले प्रतिबद्धता जनाउनुभयो । उहाँले ती परिवारलाई आयआर्जनका लागि किस्ताबन्दीमा दुई लाख रुपैयाँसम्मको सहयोग उपलब्ध गराउने तयारी भइरहेको पनि बताउनुभयो । मुख्यमन्त्री बानियाले प्रदेश सरकार गरिबमुखी, गाउँमुखी, सेवामुखी, विकासमुखी, आयमुखी र न्यायमुखी बनाउने लक्ष्यसहित अघि बढिरहेको बताउनुभयो ।

अर्को प्रसङ्गमा उहाँले फागुन २१ मा तोकिएको निर्वाचनमा दल र जनतामा उत्साह जगाउने जिम्मेवारी संघीय सरकारको रहेको टिप्पणी गर्नुभयो । नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहनुभएका मुख्यमन्त्री बानियाले जनतासँग सरकार उत्तरदायी रहनुपर्ने बताउनुभयो । शान्ति सुरक्षाको जिम्मेवारी संघीय सरकारको रहेका भन्दै राजनीतिक दललाई निर्वाचनप्रति उत्साह जगाउनने वातावरण बनाउनेने जिम्मेवारी संघीय सरकारको रहेको धारणा राख्नुभयो ।
घर प्राप्त गरेपछि मिठुमाया सुनारले आफूले सोचेभन्दा राम्रो घर पाएकोमा खुशी व्यक्त गर्नुभयो । सात वर्षअघि श्रीमान्को मृत्यु भएपछि ज्याला, मजदुरी गरेर एक अपाङ्ग छोरा सहित छ जनाको परिवार पाल्दै आउनुभएकी मिठुमायाले ओत ढाक्ने छाना पाएकोमा आँसु झार्दै खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री बानियाले मिठुमायालाई जिविकोपार्जनका लागि बाख्रा पालन गर्न २० हजार रुपैयाँ नगद सहयोग समेत गर्नुभयो । सहकारी तथा गरिबी निवारण मन्त्री विनु रायमाझीले भाडाकुडा र खाद्यान्न सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा मुख्यमन्त्रीका सल्लाहकार तथा नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, वडा नं. ९ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, कांग्रेस मनहरी गाउँपालिकाका सभापति प्रकाश बर्तौला लगायतले मन्तव्य राखेका थिए । मुख्यमन्त्री बानियाले आफ्नो निर्वाचन क्षेत्रका अन्य दुई विपन्न परिवारका लागि पनि घर निर्माण गराइरहनुभएको छ । राक्सिराङ र कैलाश गाउँपालिकामा निर्माण भइरहेको घर तिहारपछि हस्तान्तरण गर्ने तयारी गरिएको छ ।














