मकवानपुरमा बैशाख २ गतेदेखि राहदानी घरघरमै पुग्ने
२७ चैत्र, हेटौँडा । मकवानपुरमा अब राहदानी अर्थात् (पासपोर्ट) घरमै पुग्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हुलाक सेवामार्फत सेवाग्राहीको घरमै राहदानी पु¥याउने व्यवस्था सुरु गर्न लागेको हो । आगामी बैशाख २ गतेदेखि उक्त सेवा औपचारिक रूपमा सञ्चालनमा आउनेछ । यस सेवाले राहदानी तयार भएपछि कार्यालय धाउनुपर्ने अवस्था हटाउने अपेक्षा गरिएको छ । सेवा प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयसँग समन्वय गरेर काम अघि बढाएको जनाएको छ । नेपाल सरकारले अघि सारेको सय बुँदे शासकीय सुधार कार्यक्रम अन्तर्गत घरघरमै सेवा पु¥याउने नीतिअनुसार पहिलो चरणमा राहदानी वितरण सुरु गर्न लागिएको हो ।
प्रारम्भमा हेटौँडा उपमहानगरपालिका क्षेत्रमा हुलाक मार्फत सेवा उपलब्ध गराइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो । हालसम्म लिन नआएका करिब ५ सय राहदानी पहिलो चरणमा हुलाकमार्फत वितरण गरिने तयारी गरिएको छ । आगामी दिनमा नागरिकता, राष्ट्रिय परिचयपत्र र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत घरमै उपलब्ध गराउने योजना रहेको प्रशासनले जनाएको छ ।
हाल स्रोतसाधनको कमी तथा सुरक्षा संवेदनशीलताका कारण जिल्लाका अन्य पालिकामा सेवा बिस्तार गर्न नसकिएपनि उपमहानगर क्षेत्रमा भने सहज रुपमा सेवा सञ्चालन गर्न सकिने जिल्ला हुलाक कार्यालयले जनाएको छ । उपमहानगर नजिकका वडामा सोही दिन राहदानी पु¥याइनेछ भने टाढाका स्थानमा अधिकतम भोलिपल्ट बेलुकासम्म वितरण गरिने जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश लामिछानेले बताउनुभयो आवश्यक स्रोत, साधन, जनशक्ति व्यवस्थापन भएपछि अन्य पालिकास्तरमा पनि सेवा प्रवाह गरिने योजना रहेको छ ।
नेपाल सरकारले चैत १३ गते घोषणा गरेको सयबुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत सय दिनभित्र कार्यान्वयन गर्ने लक्ष्यअनुसार बुद्धा नम्बर २७ मा उल्लेखित कार्यान्वयनमा ल्याउन लागिएको हो ।














