राक्सीराङकी निशामायाले पाए नयाँ घर
४ वैशाख, हेटौँडा । आगलागीबाट घरबार गुमाएका मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाका वडानम्बर–३, लावतीको विपन्न निशामाया चेपाङ्गको परिवारले नयाँघर पाएको छ ।
श्रम संस्कृति पार्टी मकवानपुरले श्रमदानको माध्यमबाट निशामायाको घर निर्माण गरिदिएको हो । गत चैत ४ गते आगलागीका कारण निशामाया चेपाङ्गको घर जलेर नष्ट भएको थियो । शुक्रबार श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष युनेश लामा सिङ्तान सहितको टोली हेटौंडाबाट राक्सिराङ्गमा पुगेर एक विशेष समारोहका बीच निशामाया चेपाङ्ग, श्रीमान रमेश कार्की र छोरा जोशेप कार्कीलाई घर हस्तान्तरण गरेका हुन् । श्रमसंस्कृति पार्टीका प्रतिनिधिले एक महिनामै आर्थिक सहयोग संकलन गरेर र श्रमदानबाट घर निर्माण गरी परिवारलाई हस्तान्तरण गरेको हो ।
राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यमा तथा पार्टीका जिल्ला अध्यक्ष युनेश लामा सिन्तानको सभाध्यक्षमा घरको चाबी हस्तान्तरण गरिएको थियो । करिब १० धुरको एलानी जग्गामा साढे ३ धुरको जमिनलाई ओगटेर श्रमदानबाट एक तल्ला २ कोठाको घर निर्माण गरेको जिल्ला अध्यक्ष युनेश लामा सिन्तानले बताउनुभयो ।
निशा मायाको घर जल्दा साढे ६ लाख बराबरको क्षति भएको थियो । घर निर्माणका लागि करिब झण्डै ८ लाख रुपैयाँ बजेट खर्च हुने भएपनि पार्टीका कार्यकताको श्रमदानबाट र विभिन्न व्यक्तित्व तथा कम्पनीको सहयोगबाट २ लाख ५ हजार १ सय ६६ रुपैयाँको बजेटमा घर निर्माण गरिएको हो ।














