जेनजी आन्दोलनमा क्षतिग्रस्त बागमतीका ४ मन्त्रालय बसेको भवन पुनर्निर्माण सकियो

संवाददाता
७ बैशाख २०८३, सोमबार १४:४२

७ वैशाख, हेटौँडा । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त बागमती प्रदेशका चार मन्त्रालय बसेको भवनको पुनर्निर्माण सम्पन्न भई उद्घाटन गरिएको छ ।
सहरी विकास तथा भवन कार्यालय मकवानपुरद्वारा मर्मत, सम्भार र पुनर्निर्माण कार्य सम्पन्न भएसँगै सोमबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भवनको उद्घाटन गर्नुभएको हो । सो भवन मर्मत तथा पुनर्निर्माणका लागि एक करोड २८ लाख रुपियाँमा ठेक्का सम्झौता गरेर काम गरिएको कार्यालयका प्रमुख भूपेन्द्र यादवले जानकारी दिनुभयो । भवन हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले जनताप्रति पारदर्शी र जवाफदेही भएर काम गरिरहेको बताउनुभयो ।
उहाँले मन्त्रालय लगायतका प्रदेशका कार्यालयमा आगजनी र तोडफोडपछि असहज रुपमा कार्यसम्पादन गर्नुपर्ने बाध्यता रहेकोमा अब भवन मर्मत र पुनर्निर्माणपछि पूर्ववत् सहज रुपमा कार्यसम्पादन गर्ने बाटो खुलेको उल्लेख गर्नुभयो । सातै प्रदेशमध्ये बागमती प्रदेशले सबैभन्दा पहिले जेनजी आन्दोलनबाट क्षतिग्रस्त सरकारी भवनहरूको पुनर्निर्माण गर्न समक्ष भएको उहाँको जिकिर थियो ।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटाले क्षतिग्रस्त भवनको मर्मत र पुनर्निर्माणका क्रममा भवनको संरचनात्मक सुरक्षालाई विशेष प्राथमिकतामा राखेको बताउनुभयो । उहाँका अनुसार आगजनीका कारण भवनका संरचना कमजोर बनेकाले विज्ञ र स्ट्रक्चरल इन्जिनियरहरूको टोलीबाट अध्ययन गराई मर्मत र पुनर्निर्माण गरिएको हो । मन्त्रालयले इन्जिनियरिङका विज्ञहरु परिचालन गरी भवनका डन्डीहरु कति तापक्रममा पग्लिएका छन् र संरचना कति सुरक्षित छ भन्ने प्राविधिक अध्ययन समेत उहाँले जानकारी दिनुभयो ।
कार्यालय प्रमुख यादवका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत एवं पुनर्निर्माणमा तीन करोड ९५ लाख रुपियाँमा ठेक्का सम्झौता गरी काम गरिएको जानकारी दिनुभयो । कार्यालयले ठेक्का आह्वान गरी प्रदेशका ४ वटा मन्त्रालय रहेको भवनसहित प्रदेश सभा सचिवालय, सामाजिक विकास मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय र प्रमुख सचिवको निवास गरी ५ वटा भवनको पुनर्निर्माण सम्पन्न गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*