हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको काम पुनः सुरु

संवाददाता
८ बैशाख २०८३, मंगलवार १८:४१

८ वैशाख, हेटौँडा । स्थानीय विवादका कारण लामो समयदेखि अवरुद्ध हुँदै आएको देशकै महत्वपूर्ण ऊर्जा आयोजनामध्ये एक हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण कार्य पुनः सुरु गरिएको छ ।
मकवानपुर खण्डमा रोकिएको काम मंगलबारदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा टावरका लागि बेस निर्माण प्रक्रिया अगाडि बढाइएको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, १६ र १७ नम्बर वडामा स्थानीयको अवरोधका कारण प्रसारण लाइन विस्तारको काम ठप्प थियो । निर्माण कार्य अघि बढाउने क्रममा स्थानीय बासिन्दाले विरोध जनाउँदै अवरोध गर्ने प्रयास गरेपछि केहीबेर अवस्था तनावपूर्ण बनेको थियो ।
प्रभावितले बिना मुआब्जा निजी तथा नम्बरी जग्गामाथि प्रसारण लाइन विस्तार गर्न नदिने अडान लिएका थिए । सो क्रममा प्रहरीले तीन महिलासहित चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । स्थानीयवासीले बस्तीबीचबाट प्रसारण लाइन लैजान नहुने, यदि लैजानै परे उचित मुआब्जा सुनिश्चित गर्नुपर्ने तथा स्वास्थ्य र दीर्घकालीन असरबारे स्पष्ट जानकारी दिनुपर्ने माग राख्दै आएका छन् ।

हेटौंडास्थित थानाभ¥याङ सबस्टेसनदेखि इनरुवा सबस्टेसनसम्म २८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । हेटौंडा–ढल्केबर (१३४ किमि) र ढल्केबर–इनरुवा (१५४ किमि) मध्ये ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएर चार्जमा आइसकेको छ । हेटौंडा–ढल्केबर खण्ड विभिन्न अवरोधका कारण समयमै सम्पन्न हुन सकेको छैन । आयोजना अन्तर्गत कुल ७ सय ९५ वटा टावरमध्ये ९८ वटा टावर मकवानपुर जिल्लामा पर्छन् । हालसम्म अधिकांश टावर निर्माण सम्पन्न भइसकेका छन् भने अब १४ वटा टावर निर्माण गर्न बाँकी रहेको छ ।

तीमध्ये वडा नंम्बर वडामा १५ मा २ वटा, वडा नम्बरमा १६ मा १० वटा र वडा ननम्बर १७ मा २ वटा टावर निर्माण हुन बाँकी छन् । ढल्केबरदेखि हेटौंडा–१७ सम्म तार तान्ने काम पनि सकिएको छ । २०७५ सालमै टावर रहने जग्गा अधिकरण गरि मुआब्जा वितरण भैरहेको जनाइएको छ । साथै तारमुनि पर्ने जग्गाका हकमा भने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा क्षतिपूर्ति मूल्यांकन समिति गठन गरि कार्य अघि बढाइएको आयोजना निर्देशक श्यामकुमार यादवले जानकारी दिनुभयो ।
समयमै आयोजना सम्पन्न नहुँदा राज्यले वार्षिक ५ देखि ६ अर्ब रुपैयाँसम्मको क्षति व्यहोर्नुपरेको आयोजना प्रमुखले यादवले बताउनुभएको छ । साढे दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१३ देखि निर्माण सुरु गरिएको यो आयोजना अझै पूर्णता पाउन सकेको छैन । हाल सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनको क्षमता करिब २०० मेगावाट मात्र भएकाले हिउँदयाममा विद्युत् प्रवाहमा समस्या हुँदै आएको छ । हेटौंडा– ढल्केवर ४०० केभी प्रसारण लाइन सञ्चालनमा आएपछि पर्याप्त विद्युत् प्रवाह सम्भव हुने, भोल्टेज सुधार हुने तथा विशेषगरी मोरङ–सुनसरी औद्योगिक करिडोर र वीरगञ्ज करिडोरमा विद्युत् आपूर्ति उल्लेखनीय रूपमा सुधार हुने आयोजना प्रमुख यादवले बताउनुभयो ।
यो प्रसारण लाइनलाई देशको ऊर्जा पूर्वाधार सुदृढीकरणका लागि अत्यन्त महत्वपूर्ण आयोजना मानिएको छ । यसले पूर्व–पश्चिम विद्युत् प्रसारण प्रणालीलाई मजबुत बनाउने, आन्तरिक विद्युत् आपूर्ति सहज बनाउने तथा भारतसँग ऊर्जा व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*