पार्टी एकतालाई सुदृढ गर्न बानियाँको आह्वान
५ वैशाख, हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले कांग्रेस भित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट अन्तिम निर्णय भइसकेको अवस्थामा त्यसलाई सम्मान गर्दै पार्टी एकता सुदृढ गर्न आह्वान गर्नुभएको छ ।
उहाँले कांग्रेस सधैं नीति, विधि र न्यायिक निर्णयको पक्षमा दृढ रहने पार्टी भएको उल्लेख गर्दै अदालतको निर्णयलाई स्वीकार्नु नै कांग्रेसजनको पहिचान भएको बताउनुभयो ।
बानियाँले नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षबीच मतभेद रहे पनि सर्वोच्च अदालतले विवाद टुंग्याइसकेको भन्दै अब सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार अबको प्राथमिकता पार्टीको आन्तरिक एकता बलियो बनाउँदै १५ औँ महाधिवेशनलाई भव्य रूपमा सफल बनाउनु हो ।
सभापति बानियाँले पार्टी नेतृत्व, सबै तहका नेता–कार्यकर्ता, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र कांग्रेसप्रति आस्था राख्ने सबैलाई एकताबद्ध भएर महाधिवेशन सफल बनाउन सक्रिय हुन आग्रह गरेका छन् ।
‘सबैलाई समेटेर अगाडि बढ्ने जिम्मेवारी नेतृत्वमा आएको छ,’ उहाँले भन्नुभयो, ’एकताबद्ध प्रयासबाट १५औँ महाधिवेशन सफल बनाउनुपर्छ ।’ उहाँले पार्टीभित्रको एकता सुदृढ गर्दै आगामी कार्यदिशामा केन्द्रित हुन सबै पक्षलाई आग्रह गर्नुभयो । कांग्रेसको आन्तरिक विवादका सन्दर्भमा सर्वोच्च अदालतले शुक्रबार फैसला सुनाएको थियो । सर्वोच्चको संयुक्त इजलासले गत पुसमा सम्पन्न विशेष महाधिवेशन र त्यसबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई वैधता प्रदान गरेको हो ।














