दलित सशक्तिकरण सम्बन्धी विधेयक निर्माणका लागि सरोकारवालासँग छलफल
७ वैशाख, हेटौँडा । बागमती प्रदेशमा दलित सशक्तिकरणसम्बन्धी विधेयक निर्माणका लागि सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
दलित महिला संघ (फेडो) मकवानपुरको आयोजनामा सामेबार भएको कार्यक्रममा विधेयकको मस्यौदामाथि सुझाव संकलन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दलित समुदायमाथि हुने विभेद अन्त्य गर्न प्रभावकारी कानुन अपरिहार्य रहेको बताउनुभयो । उहाँले संविधानमा छुवाछुत अन्त्य भएको उल्लेख भए पनि व्यवहारमा अझै विभेद कायम रहेकाले त्यसको अन्त्यका लागि स्पष्ट र कडाइका साथ लागू हुने कानुनी व्यवस्था आवश्यक रहेको धारणा राख्नुभयो । दलित समुदायको हक–अधिकार स्थापना गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । मुख्यमन्त्री बानियाँले लोकतन्त्रमा जात, वर्ग वा समुदायभन्दा मानवता ठूलो हुने उल्लेख गर्दै पछाडि परेका वर्गलाई अग्राधिकार दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले गणतन्त्रलाई गरिबमुखी व्यवस्थाको रुपमा समेत चित्रण गर्नुभयो ।

त्यसैगरी आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज अधिकारीले प्रस्तावित विधेयकले दलित समुदायको अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । सरोकारवालाबाट प्राप्त सुझाव समेटेर व्यवहारिक र कार्यान्वयनयोग्य कानून निर्माण गरिने उहाँको भनाइ थियो । उहाँले लोकतन्त्र बलियो भए मात्र सामाजिक तथा जातीय उत्थान सम्भव हुने उल्लेख गर्दै दलित समुदायको सीप, कला र क्षमताको उचित उपयोग आवश्यक रहेको बताउनुभयो ।
प्रदेश सभा सदस्य बालकुमारी विश्वकर्माले दलित समुदायले भोग्दै आएको विभेद अन्त्य गर्न कानुन आवश्यक रहेको बताउनुभयो । उहाँले दलित सशक्तिकरणका लागि कानुन निर्माणको विषय आफूले सुरुदेखि नै सदनमा उठाउँदै आएको भए पनि अपेक्षित प्राथमिकता नपाएकोमा असन्तुष्टि जनाउनुभयो । चालु आर्थिक वर्षभित्रै कानून बनाउनुपर्नेमा जोड दिँदै उहाँले अन्य प्रदेशले यससम्बन्धी कानुन निर्माण गरिसकेको अवस्थामा बागमती प्रदेश पछि पर्न नहुने बताउनुभयो । साथै, आवश्यकता परे सडकदेखि सदनसम्म आवाज उठाइने चेतावनी समेत दिनुभयो ।

कार्यक्रममा प्रदेश बाल अधिकार समितिका संयोजक प्रकाश खतिवडाले विधेयकको आवश्यकता र मस्यौदाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । सहभागीहरूले विधेयकलाई समावेशी, व्यवहारिक र कार्यान्वयनयोग्य बनाउनुपर्नेमा जोड दिँदै दलित समुदायमाथि हुने विभेद अन्त्य र समान अवसर सुनिश्चित गर्ने दिशामा केन्द्रित हुनुपर्ने सुझाव दिएका थिए ।
फेडो मकवानपुरकी उपाध्यक्ष सुनिता दर्नालको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख ललित घलान, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको सहभागिता रहेको थियो ।














