स्वरोजगार सिर्जना गर्ने उद्देश्यले हेटौँडामा ढाका बुनाइ तालिम जारी
२० जेठ, हेटौँडा । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) को सहयोग तथा हेटौँडा उपमहानगरपालिकाको आयोजनामा हेटौँडामा ढाका बुनाइ तालिम सञ्चालन भइरहेको छ ।
वैशाख १६ गतेदेखि सुरु भएको तालिम जेठ २९ गतेसम्म सञ्चालन हुने उपमहानगरपालिकाले जनाएको छ । सीप विकासमार्फत आयआर्जन र स्वरोजगार सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा सहभागीहरूले ढाका कपडाबाट सल, साडी, कुर्था, पछ्यौरा, खादा तथा रुमाललगायत सामग्री उत्पादन गर्न सिकिरहेका छन् । हाल तालिममा १६ जनाले बेसिक र १५ जनाले एडभान्स तहको निःशुल्क प्रशिक्षण लिइरहेका छन् । छोटो समयमै सहभागीहरूले ढाका रुमाल, खादा, सल तथा पछ्यौरा बनाउन सक्ने दक्षता हासिल गरेको बताएका छन् । तालिमले भविष्यमा आफ्नै व्यवसाय सञ्चालन गर्न र आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने उनीहरूको विश्वास छ ।

तालिमकी प्रशिक्षक सीता थापाले उपमहानगरपालिकाद्वारा सञ्चालन गरिएको ढाका तालिम मार्फत आफू पनि यसै क्षेत्रको प्रशिक्षक बन्न सफल भएको बताउनुभयो । दुई वर्षसम्म बेसिक र एडभान्स तालिम लिएर दक्ष बनेकी थापाका अनुसार हेटौंडाको ढाकाजन्य उत्पादनप्रति माग तीव्र रूपमा बढिरहेको छ । विशेषगरी ढाकाको साडी, कुर्था–सुरुवाल र कोटको माग उच्च भएकाले अर्डर व्यवस्थापनमै कठिनाइ भइरहेको उहाँले बताउनुभयो । । घरायसी कामसँगै गर्न सकिने भएकाले ढाका बुनाइले महिलाहरूलाई आयआर्जनको राम्रो अवसर प्रदान गरेको उहाँको भनाइ छ ।
उत्पादित ढाकाजन्य सामग्रीको बजारीकरणका लागि उपमहानगरपालिकाले कोसेली घरसमेत स्थापना गरेको आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटाले बताउनुभयो । उक्त कोसेली घरमा हेटौँडा उपमहानगरपालिकाका उद्यमीहरूले उत्पादन गरेका सामग्रीको बिक्री तथा प्रदर्शन गरिँदै आएको छ । हेटौँडा बाहिरबाट आउने आगन्तुकहरूले कोसेली घरबाट हेटौँडाको पहिचानस्वरूप ढाका सामग्री लैजाने गरेका छन् । पछिल्लो समय ढाकाको माग बढ्दै गएसँगै हेटौँडाको नयाँ पहिचानका रूपमा ढाका बुनाइ स्थापित हुँदै गएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) संघीय सरकारको ससर्त अनुदानमा आर्थिक वर्ष २०७७÷७८ देखि हेटौँडा उपमहानगरपालिकामा सञ्चालन हुँदै आएको छ । यस कार्यक्रमअन्तर्गत ढाका बुनाइसँगै सिलाइ–कटाइ, ब्युटीपार्लर, हस्तकला, कृषि तथा अन्य मागमा आधारित सीपमूलक तालिमहरू पनि सञ्चालन भइरहेका छन् । मेड्पा कार्यक्रमले विपन्न, महिला, दलित, आदिवासी जनजाति तथा सीमान्तकृत समुदायलाई लक्षित गरी सीप विकास, पुँजीमा पहुँच, व्यवसाय दर्ता सहयोग तथा बजार व्यवस्थापनमार्फत स्वरोजगार प्रवद्र्धन गर्दै आएको छ ।














