थाहा नगरपालिका ९ चित्लाङमा कात्तिके नाच सकियो
१४ कार्तिक, हेटौँडा । मकवानपुर जिल्लाको पर्यटकीय स्थल थाहा नगरपालिका ९ चित्लाङमा कात्तिके नाच सकिएको छ ।
कोजाग्रत पूर्णिमादेखि ४ दिनसम्म यो नाच नाच्ने प्रचलन रहेको छ । शनिबार बेलुकादेखि सुरु भएको नाच मंगलबार बिहान राँगाको बलि दिएर प्रसाद बाँडेपछि विधिवत् रुपमा सकिएको हो । चित्लाङका नेवार समुदायले करिब ५ सय वर्षदेखि यो नाच नाच्दै आएका छन् । पूर्णिमाको अघिल्लो दिन स्वच्छन्द भैरवको रथ भैरब थानमा लगिन्छ । उक्त रथ पूर्णिमाको दिन जात्रा गर्दै गाउँमा ल्याएपछि चैत्य डवलीमा नाच सुरु हुने गर्दछ । गाउँका मुख्य गुरुको घरबाट पूजा गरी ५ वटा देवता गणेश, भैरब, बराही, कुमारी र महालक्ष्मीको नाच निकालिने गरिन्छ । ९ वटा देवताको नाच १२ वर्षमा देखाइन्छ । ५ वटा देवताको नाच भने हरेक वर्ष देखाउने गरिएको छ ।

बज्रबाराही, मार्खु, कुलेखानी, हेटौंडा लगायत बाहिरी जिल्लाका मानिस समेत यो नाच हेर्न जाने गरेका छन् । काठमाडौं देखि चित्लाङ माझगाउँमा भन्ने स्थानमा कृष्णलिला सहितको कात्तिके नाच नाच्ने गरिन्छ । तत्कालिन समयमा पाटनबाट एक दिनको लागि सापटी ल्याएको नाच दुई दिन थप गरी तीन दिनसम्म देखाउने गरिएको स्थानीयले बताएका छन् ।

जात्रामा चित्लाङको मौलिक नाच बनिया नाच समेत देखाइन्छ । जात्राको अन्तिम दिन बिहान भैरवको मुखुण्डो लगाएका कालभैरव, गणेश, वराही, महालक्ष्मी र कुमारीको मुखुण्डो लगाएका ‘देवता’ ले बलि दिएको राँगाको घाँटीमा मुख लगाएर रगत पिउने प्रचलन छ । कृष्णले कंशलाई बध गरेको खुशीयलीमा राँगाको बलि दिने गरिएको हो ।














