मध्यवर्ती क्षेत्र आसपास बसोबास गर्ने नागरिकको निशुल्क बीमा गर्न माग
११ मंसिर, हेटौँडा । मनहरी गाउँपालिका ६ जोगीतालका स्थानीयले राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपास बसोबास गर्ने नागरिकको निशुल्क बीमा गर्न प्रदेश सरकारसँग माग गरेका छन् ।
बन्यजन्तुबाट सम्भावित दुर्घटनाको २० लाख बिमांक रकमको निशुल्क बीमा गर्ने व्यवस्था मिलाउन मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग माग गरेका हुन् । राष्ट्रिय निकुञ्जको प्रभावित खाद्य अधिकार समूहका संयोजक राम बहादुर लोप्चनको नेतृत्वमा पुगेका टोलीले बीमा नगरिएसम्म वन्यजन्तुको आक्रमणबाट घाइते भएमा पूर्ण उपचार र मृत्यु भएमा १० लाख राहत दिने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका हुन् । मुख्यमन्त्री समक्ष उनीहरुले प्राकृतिक श्रोत र साधनमा पहुँच सुनिश्चित लगायत १० बुद्धे माग राखेका हुन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ पाँचौं संसोधन, दफा ५, उपदफा २ ले व्यवस्था गरे अनुरुपको अधिकार उपभोग गर्ने व्यवस्थाको सहजिकरण तथा समन्वय गरिदिन निकुञ्जको प्रभावित समूहले मुख्यमन्त्रीलाई आग्रह गरेका छन् ।

राष्ट्रिय निकुञ्ज प्रभावितको मागको विषयमा आफू गम्भिर रहेको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो । प्रधानमन्त्रीसँग समेत छलफल भएको जानकारी गराउँदै मुख्यमन्त्री जम्कट्टेलले ऐन नै संसोधन गरी समस्या समाधान गर्ने बताउनुभयो ।

फियान नेपाल बागमती प्रदेश संयोजक राजेन्द्र पोखरेलको सहजीकरणमा प्रभावित समूह र मुख्यमन्त्रीबीच भेटवार्ता भएको हो ।














