मकवानपुरमा आमाको नामबाट हालसम्म २८ जनाले नागरिकता लिए
९ पुस, हेटौँडा । मकवानपुरमा आमाको नामबाट हालसम्म २८ जनाले नागरिकता लिएका छन् ।
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० जारी हुनु अघि २५ जनाले र जारी भएपछि ३ जनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट वंशजका आधारमा आमाको नामबाट नागरिकता लिएका हुन् । आमाको नामबाट नागरिकता प्राप्त गर्नका लागि निवदेकको जन्मदर्ता, आमाको नागरिकताको प्रमाणपत्र, बाबुको पहिचान नभएको स्वघोषणापत्र सहित वडा कार्यालयको सिफारिस समेत प्रशासनमा बुझाउनु पर्ने प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईँले बताउनुभयो ।

व्यक्ति पहिचान गर्न, शैक्षिक क्षेत्र, व्यापार, व्यवसाय, राहदानी प्राप्ति, मताधिकार, बैंङ्क खाता जस्ता विभिन्न काममा नागरिकता अनिवार्य हुने प्रमुख जिल्ला अधिकारी सेडाईले बताउनुभयो ।
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका व्यक्तिले आमाको नामबाट नागरिकता पाउने बाटो खुलेको हो ।














