त्रिविद्धारा स्नातक तहका प्रश्नपत्र अब अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय
१७ चैत्र, हेटौंडा । त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तह प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको अस्ति बसेको बैठकले आउँदो पहिलो वर्षको परीक्षादेखि अनिवार्य रूपमा यो व्यवस्था लागू गर्ने भएको हो ।
साथै त्यसपछि क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षका परीक्षामा लागू गरिने सो निर्णय लागु हुने त्रिविले जनाएको छ । विश्वविद्यालयले अहिलेसम्म अङ्ग्रेजी भाषामा मात्रै प्रश्नपत्र तयार गर्ने गरेकामा नेपालीमा पनि सोध्न माग हुँदै आएको थियो । साथै तल्लो तहमा विद्यार्थीले अङ्ग्रेजी भाषामा सबै प्रश्न नबुझ्दा सही रूपमा उत्तर लेख्न नसकेका कारण विद्यार्थीको नतिजामा समेत असर परेको थियो ।














