वन क्षेत्रको समस्या समाधान गर्न कानुन संसोधन गर्नुपर्छः मुख्यमन्त्री जम्कट्टेल
११ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले वन क्षेत्रको समस्या समाधान गर्न कानून संसोधन गर्ने बताउनुभएको छ ।
मंगलबारबाट हेटौंडामा सुरु भएको दुई दिने प्रदेशको वन तथा वातावरण मन्त्रालयको तेस्रो त्रैमासिक समिक्षा कार्याक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री जम्कटेलले वन क्षेत्रको समस्या समाधान गर्न कानून संसोधन गर्ने बताउनुभयो । उहाँले कार्यसम्पादनमा देखिएका नीतिगत समस्यालाई कानून संसोधन गर्दे समाधानको बाटो खोज्ने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्रालयका सचिव धिरेन्द्र प्रधानले आर्थिक वर्ष २०८०–०८१ को चैत्र मसान्तसम्मको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । मन्त्रालयको ३ अर्ब ७ करोड २५ लाख १९ हजार रुपैयाँ मध्ये हालसम्म १ अर्ब १४ करोड ७५ लाख ७६ हजार रुपैयाँ मात्रै बजेट खर्च भएको छ । कार्यक्रममा वन क्षेत्रबाट प्रदेशको अर्थतन्त्रमा हुने योगदान, दिगो वन व्यवस्थापन, सामुदायिक वनको अवस्था र आगामी आर्थिक वर्षका लागी योजना तर्जूमा लगाएतका विषयमा छलफल भएको थियो ।
वन तथा वातावरण मन्त्री केशव पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेशभरीमा १५ वटै डिभिजन वन कार्यालयहरु, ७ वटा भू–तथा जलाधार कार्यालयहरु र वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका प्रमुख तथा प्रतिनिधिहरु सहभागी छन् ।














