बागमती प्रदेश युवा सम्मेलन सम्पन्न, १३ बुँदे घोषणापत्र जारी

संवाददाता
३० बैशाख २०८१, आईतवार १७:४६

३० वैशाख, हेटौँडा । बागमती प्रदेश युवा सम्मेलन २०८१ सम्पन्न भएको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा १३ बुँदे घोषणा पत्र जारी गर्दै तीन दिने सम्मेलनको आइतबार समापन गरिएको हो । घोषणापत्र प्रस्तुत गर्नुहुँदै बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवामैत्री नीति निर्माण र विद्यमान नीतिको प्रभावकारी कार्र्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश युवा परिषद् ऐन २०७६, प्रदेश युवा परिषद् नियमावली २०७७, बागमती प्रदेश युवा नीति २०७९ को प्रभावकारी कार्यान्वयन गर्दै युवाहरुको चाहना र आवश्यकताहरुको सम्वोधन गरिनुपर्ने बताउनुभयो । कार्यकारी उपाध्यक्ष चौलागाईले प्रदेशका युवाहरुका साझा सवालहरुको सम्वोधनका लागि युवा परिषद्लाई स्रोत साधन सम्पन्न बनाउन पनि प्रदेश सरकारसंग आग्रह गर्नुभयो । प्रदेश सरकारले घोषणा गरेको सीप विकास वर्ष २०८१ लाई युवा परिषद्को नेतृत्वमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


कार्यकारी उपाध्यक्ष चौलागाईले युवालाई देशमै सम्भावनाको खोजी र अवसरहरुको पहिचान तथा प्रवद्र्धनमा सहजीकरण आवश्यक रहेको बताउनुभयो । प्रदेशका कला, संस्कृति र ऐतिहासिक तथा प्राकृतिक क्षेत्रहरुको पहिचान, अभिलेखीकरण, संरक्षण र प्रवद्र्धनमा युवाहरुको सहभागिता सुनिश्चित गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यकारी उपाध्यक्ष चौलागाईले युवाहरुको नेतृत्वमा जलवायु अनुकुलन, विपद् व्यवस्थापन र वातावरणीय न्यायको प्रवद्र्धन गरिनुपर्ने बताउनुभयो । युवाहरुको साझा सवाल सम्बोधन गर्नको लागि प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र स्थानीय तहहरुको समेत थप क्रियाशीलता आवश्यक रहेको उहाँको भनाई छ ।
वैशाख २८ गतेदेखि सुरु भएको सम्मेलनमा प्रदेशका ९१ पालिकाका २ सय जना भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*