थाहाका मेलमिलाप सहजकर्ता र कार्यपालिका सदस्यलाई कानुनी शिक्षा
शम्भु अधिकारी
जेठ ३२ थाहा । थाहा नगरपालिकाको न्यायिक समितिलाई तीन दिने मनोसामाजिक परामर्श तथा कानुनी शिक्षा तालिम सम्पन्न भएको छ ।
न्यायिक समितिको क्षमता अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा न्याय निरुपणका क्रममा आइपर्ने मनोसामाजिक समस्यालाई परामर्श सहित कसरी हल गर्ने, कानुनी शिक्षा अभिवृद्धि गर्ने लगायतको बारेमा नगरपालिका भित्र रहेका मेलमिलाप केन्द्रका संयोजक तथा सदस्यहरु र कार्यपालिका सदस्य हरुको लागि तालिमको आयोजना गरिएको थियो।
थाहा नगरपालिका न्यायिक समिती संयोजक भरत गोपालीको सभापतित्व तथा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा ३० जेठ गतेदेखि तीनदिने तालिमको सुरुवात गरिएको थियो ।
प्रमुख अतिथी नगर प्रमुख बिष्टले न्याय सम्पादनमा न्यायिक समिति र मध्यस्थकर्ताहरूको भुमिका एवम अधिकारको बारेमा सहजीकरण हुनुपर्नेमा जोड दिदै स्थानीय स्वायत्त शासनको मुख्य अभिप्राय नै राष्ट्रिय नेतृत्व निर्माण गर्नु बताउनुभयो उहाँले कानुनको शासन, मौलिक हक तथा मानव अधिकारका मूल्य र मान्यता, लैङ्गिक समानता, समानुपातिक समावेशीकरण, सहभागिता र सामाजिक न्यायको माध्यमबाट न्यापूर्ण व्यवस्था कायम गर्दै लोककल्याणकारी राज्यको निर्माण गर्नका लागि स्थानीय नेतृत्व सबल र सक्षम हुन जरुरी रहेको आँैल्याउनुभयो ।
न्यायिक समिती संयोजक उपप्रमुख भरत गोपालीले न्यायका लागि मेलमिलापको माध्यम उपयुक्त भएको भन्दै यसको व्यापकता र प्रभावकारिता मेलमिलापकर्तामा निर्भर रहने बताउनुभयो । मेलमिलापबाट समाधान गरिएका विवादहरु कार्यान्वयन गर्न प्रभावकारी रहने हुनाले मेलमिलाप प्रक्रियालाई नगरपालिकाले प्राथमिकता साथ अवलम्वन गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।














