ठगी कारोबारमा संलग्न ९ जना भारतीय नागरिक हेटौँडामा पक्राउ
२३ श्रावण, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगी कारोबारमा संलग्न ९ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सोमबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा ४ पारिजातपथ स्थित प्रमोद वाग्लेको घर भाडामा लिई मेडि असिष्ट नामको कम्पनी देखाएर अवैध कारोबार गर्ने भारतीय गिरोहलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारत पटना आलगंजका वर्ष २८ का नवनित कुमार, स्वाग कोल्लियारी झारखण्डका वर्ष २७ का सहरुख खान, विहारका वर्ष २९ का कुन्दन कु्मार, नैनताल उत्तराखण्डका वर्ष २६ का आशिष कब्डौला, राँचि झालखण्डका वर्ष ३८ का लोकेश कुमार दुब, राँचीकै विकास कुमार सिंह र उत्तर प्रदेश गाजियावादका वर्ष ४० का कुनाल शर्मा रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीका ल्यापटप ७ थान, ल्यापटकका चार्जर १८ थान, विभिन्न कम्पनीका मोबाइल १३ थान, राउटर ३ थान, हेडफोन ४ थान, मेडि असिष्ट लेखिएको स्ट्याम्प २ थान र एउटा वेब क्यामेरा बरामद गरिएको मकवानपुरका प्रहरी प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिनुभयो । भारत राँचीमा मेन सर्भर राखी Quick Call Client Software मार्फत् टार्गेट पहिचान गरि सोही सफ्टवेयर मार्फत् टार्गेट सँग सम्पर्क गरी सम्पूर्ण डिटेल भारत पठाउने गरेको अनुसन्धानबाट देखिएको प्रहरी प्रमुख रिजालले बताउनुभयो ।

उक्त कम्पनीमा १२ जना भारतीय कर्मचारी मात्रै रहेको र तीन जना फरार रहेको प्रहरीले जानकारी दिएको छ । उक्त कम्पनीले विशेष गरी नेपाली र विभिन्न देशका व्यक्तिलाई टार्गेट बनाउँदै आएको देखिएको प्रहरी प्रमुख रिजालले बताउनुभयो । उनीहरुले रातको समयमा मात्रै काम गर्ने गरेको पाइएको उहाँले बताउनुभयो । उक्त कम्पनीको कुनैपनि डाटा नेपालमा नभेटिएको खुल्न आएको प्रहरीले जनाएको छ । दीर्घ रोगीलाई उपचार र परामर्श दिनेगरी हेटौंडा उपमहानगरपालिकामा दर्ता गरिएको मेडि असिष्ट नामक कम्पनीले उद्देश्य अनुरुपको कुनैपनि कार्य गरेको नदेखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














