सरकार सबै राजनीतिक पार्टीहरुसँग सहकार्य गरेर अघि बढ्न चाहन्छः मन्त्री पाण्डे

संवाददाता
१ आश्विन २०८१, मंगलवार १८:४७

१ असोज, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले सबै राजनीतिक दलहरुलाई सरकारसँग सहकार्य गरेर अघि बढ्न आग्रह गर्नुभएको छ ।
नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहनुभएका मन्त्री पाण्डेले मुलुकमा विद्यमान सबै खालको जटिलता हटाउनका लागि दुई ठूलो पार्टीले सत्ता सहकार्य गरेकाले त्यसमा अन्य सबै राजनीतिक दलहरुले सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।
नेपाल पर्वतारोहण संघले मंगलवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकलाई जटिलताबाट पार लगाउन सबै राजनीतिक दलहरुले मिलेर काम गर्नुपर्ने बताउनु भयो ।
मन्त्री पाण्डेले देशमा समस्याको चाङ देखिएकोपछि समाधानका लागि काँग्रेस–एमाले एक ठाउँमा उभिएको उल्लेख गर्नुभयो । सबै दलहरुले एकताको बाटोबाट नेपाललाई एउटा स्थिर शासन पनि दिने, गतिशील अर्थतन्त्र प्रदान गर्ने दिशामा चाहेको मन्त्री पाण्डेको भनाई थियो ।
मन्त्री पाण्डेले मुलुकको अर्थतन्त्रलाई अघि बढाउने महत्वपूर्ण क्षेत्र पर्यटन क्षेत्र भएकाले त्यसको संवद्र्धनमा सरकार सदैव प्रतिवद्ध रहेको बताउनुभयो । संस्कृति नीति, पर्यटन नीति, र हवाई सम्बन्धि नीतिमा सामयिक परिवर्तन गर्ने कुरालाई जोड दिएर आफूले छलफललाई अघि बढाएको उहाँको भनाई थियो ।
उहाँले पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने गरी पर्वतारोहण क्षेत्रलाई गतिशील बनाउन पनि आफू लागि परेको जिकिर गर्नुभयो । मन्त्री पाण्डेले आगामी दिउँदे अधिवेशनमा पर्यटन क्षेत्रले कानूनी राज्यलाई स्थापित गराउने गरी कानून निर्माणको कामलाई अघि बढाउने योजना पनि सुनाउनु भयो ।
मन्त्री पाण्डेले उड्डयनको क्षेत्रमा नियामक निकाय र सेवा प्रदायक निकाय छुट्टाछुट्टै बनाउने गरी कानून निर्माणको कामलाई अघि बढाएको पनि दोहो¥याउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*