बागमती प्रदेशका उत्कृष्ट सामुदायिक र संस्थागत बिद्यालय पुरस्कृत
२ असोज, हेटौँडा । राष्ट्रिय शिक्षा दिवस २०८१ का अवसरमा बागमती प्रदेशका उत्कृष्ट सामुदायिक र संस्थागत बिद्यालयहरुलाई पुरस्कृत गरिएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले २०८० सालको माध्यामिक शिक्षा परिक्षा (एसईई) मा उच्च जिपिए ल्याउने प्रदेशका सामुदायिक र संस्थागत विद्यालयलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरेको हो । मुख्यमन्त्री बहादुर सिं लामा र सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले उत्कृष्ट विद्यालयका प्रतिनिधिहरूलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको हो ।
सामुदायिक तर्फ भक्तपुर नगरपालिको मेधा माध्यमिक विद्यालय, काठमाण्डौको बलम्बु माध्यमिक विद्यालय, नुवाकोटको पृथ्वी माध्यमिक विद्यालय, काठमाडौँको तरूण माध्यमिक विद्यालय र श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई सम्मान गरिएको हो ।

त्यस्तै संस्थागत तर्फ हिज किड्स इन्टरनेसनल स्कुल, रिलायन्स इन्टरनेसनल एकेडेमी, गोकर्णेश्वर लाइट एकेडेमी, शाङ्करी स्कुल, माउन्ट ग्लोरी ईङ्गलिस बोर्डिङ हाइस्कुललाई सम्मान गरिएको थियो । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः १ लाख, ८० हजार र ७० हजार नगद पुरस्कार पाएका छन् । चौंथो र पाँचौ हुनेलाई क्रमशः ६० हजार र ५० हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री लामाले शिक्षा क्षेत्र प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो । मुख्यमन्त्री लामाले विगतको भन्दा अहिले सामुदायिक विद्यालयमा सुधार हुँदै गएको बताउनुभयो ।
यसैगरी राष्टिय शिक्षा दिवसको अवसरमा आयोजित निबन्ध लेखन प्रतियोगिताका विजयीलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो । माध्यामिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगितामा बाँसबारी मावि काठमाडौंकी स्मृति चौंलागाई प्रथम, स्याउरीभूमि माध्यामिक विद्यालय नुवाकोटकी सुमना बुढाथोकी द्धितीय र भालेश्वर मावि काभ्रेकी अविना कार्की तृतीय भएका थिए । उनीहरुलाई क्रमशः १०, ८ र ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।














