थाहा नगरपालिकामा धुमधामका साथ इन्द्रजात्रा मनाईयो
२ असोज, हेटौँडा । प्राकृतिक सौन्दर्यमा अनुपम थाहा नगर सस्कृति संरक्षणमा पनि उत्तिकै सक्रिय छ ।
पालुङमा विभिन्न चाडपर्व, ऐतिहासिक महत्वका जात्रा विशेष प्राथमिकतामा साथ मनाईदै आएको छ । थाहा नगरपालिकाको वडा न २ पालुङ शहरमा यन्हा पुन्ह अर्थात ईन्द्र जात्रा धुमधाम संग मनाइएको छ । सदाझैँ यस वर्षपनि पालुङमा ईन्द्र जात्रा धुमधामका साथ मनाइएको छ ।
साबिकको पालुङ गाउँ बिकास समिति वडा न ६ पालुङ शहरका नेवारी समुदायले यन्हा पुन्ह, इन्द्रजात्रा भव्य रुपमा मनाएका छन् । ईन्द्रजात्रा परापुर्व कालदेखि थाहा नगरको सांस्कृतिक नगरी पालुङमा मनाइदै आइरहेको भएपनी यस्को प्रचारप्रसार हुन नसकेको स्थानिय निरोज प्रधानले बताउनुभयो ।

जनै पुर्णिमा देखि मनाउदै आइरहेको हिले जात्रा, अन्य नेवारी नाच तथा पुजाको समाप्ति तथा साङ्गेको रुपमा पालुङ शहरको डबलीमा यो जात्रा ईन्द्रजात्रा मनाउने चलन रहेको स्थानिय शम्भु नापित बताउनुहुन्छ ।
तृतीयाका दिन विधिपूर्वक बली दिएर पूजाआजा गरि गणेश, इन्द्रायणी, भैरव, बाराही र कुमारीको नाच पालुङ डबलीमा देखाउने गरिन्छ । इन्द्रायणीको पूजा गरी देवता भित्राएपछि अर्को वर्ष गठेमङगलमा मात्रै निमाल्ने परम्परा रहेको स्थानीय पुजारी सम्पूर्ण श्रेष्ठले बताउनुभयो ।

ईन्द्रजात्रा सास्कृतिक पर्व भएकोले यसको संरक्षण र प्रचारप्रसारमा पालिका र सरोकारवालाको सहयोगको खाचो रहेको स्थानिय बताउछन् । मेला अवलोकनको लागि थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, स्थानियहरुको घुइँचो लागेको थियो ।















