छलफल चलिरहेकै अवस्थामा अधिवेशन अन्त्य हुनुमा सरकारको अपरिपक्कता देखियोः प्रतिपक्षी दल

संवाददाता
१९ चैत्र २०८१, बुधबार १९:२२

२० चैत्र, हेटौँडा । बागमती प्रदेश सरकारले हिउँदे अधिवेशन अन्त्य गरेकोमा प्रतिपक्षी दलहरुले असन्तुष्टि व्यक्त गरेको छ ।
बुधबार प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै प्रतिपक्षी दलहरुले सरकारको कदम प्रति असन्तुष्टि जनाएको हो । सरकारले दुई तिहाईको दम्भको आडमा अधिवेशन नै अन्त्य गरेको प्रतिपक्षी दलहरुले आरोप लगाएका छन् । मंगलबार दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाएर बुधबार बिहान नै अधिवेशन गरेर सरकारले कार्यपालिका र व्यवस्थापिका बीच दुरी बढाउने काम गरेको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक रत्न ढकालले बताउनुभयो ।
सत्तापक्ष र प्रतिपक्षको साझा एजेण्डलाई गम्भीरता पूर्वक कार्यान्वयन गर्नुको सट्टा आलटाल गर्ने र अल्मलाउने नीति सरकारले लिन खोजेको प्रमुख सचेतक ढकालले जिकिर गर्नुभयो । दलहरुबीच छलफल चलिरहेकै अवस्थामा अधिवेशन अन्त्य हुनुमा सरकारको अपरिपक्कता देखिएको प्रतिपक्षी दलको बुझाई छ । प्रमुख सचेतक ढकालले बजेट अधिवेशनमा सरकारले नीति, कार्यक्रम र बजेट ल्याउने नैतिक समेत गुमाएको बताउनुभयो ।
त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का सांसद् लक्ष्मण लम्सालले विपक्षी दलहरुको कारण संसद स्थगित नभएको बताउनुभयो । मुख्यमन्त्री र मन्त्रीहरुबीच तालमेल नमिल्दा नै संसद् स्थगित हुन पुगेको उहाँको भनाई छ । सरकारको कार्यशैलीमा अलोकतान्त्रिक चरित्र देखिएको उहाँले बताउनुभयो ।
माघ १८ गते आह्वान भएको प्रदेशसभाको हिउँदे अधिवेशनमा ४ वटा मात्र बैठक बसेको छ । हिउँदे अधिवेशन अन्त्य भएसंगै संसदीय समितिबाट प्रतिवेदन सहित पारित भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुन सकेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*