१५ वटा गाई सहितको मिनि ट्रक पशु सेवा कार्यालयको नियन्त्रणमा
२० चैत्र, हेटौँडा । मकवानपुरमा अवैध रुपमा गाईगोरु तस्करी हुने क्रम बढ्दै गएको छ ।
गोरुसहितको ट्रक नियन्त्रणमा लिएको एक महिना नबित्दै जिल्ला पशु सेवा कार्यालय मकवानपुरले पुनः १५ वटा गाई सहितको मिनि ट्रक नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी वल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरबाट खटिएको प्रहरी टोलीको सहयोगमा बिहीबार बिहान हेटौंडाबाट पथलैया जाँदै गरेको प्र–२–०३–००१ ख ३७५९ नम्बरको मिनि ट्रक हेटौँडा १५ रातोमाटेबाट नियन्त्रणमा लिइएको पशु सेवा कार्यालयका प्रमुख डाक्टर ब्रजकिशोर ठाकुरले बताउनुभयो ।
सशस्त्र प्रहरीको टोलीले आवश्यक अनुसन्धानका लागि ट्रक चालक, सहचालक र गाई चरुवालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको छ । पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिकाका अभिशेक सुनुवार, रत्ननगर चितवनका सागर तामाङ र नीजगढ बाराका अमर बहादुर अधिकारी रहेका छन् । निलम्बनमा परेका पशु प्राविधिकबाट नै प्रमाणपत्र जारी गरेको देखिएकाले स्वतः अवैध हुने प्रमुख ठाकुरले बताउनुभयो ।
भेटेनरी प्रमाणपत्रमा गत फागुन २१ गते नेपाल पशु चिकित्सा परिषद्द्धारा दुई महिनाका लागि निलम्बनमा परेका पशु चिकित्सक डाक्टर टिकाराम न्यौपानेको हस्ताक्षर रहेको पाइएको छ ।
नियन्त्रणमा लिएको गाई हेटौंडा १६ स्थित लक्ष्मी चौपाय सप्लायर्सका भिम राईको रहेको भेटेनरी प्रमाणपत्रमा उल्लेख छ ।














