पाथिभरा मन्दिरमा चैत्र अष्टमीको अवसरमा विशेष पुजा
२३ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १ भैरवडाँडामा अवस्थित पाथिभरा मन्दिरमा चैत्र अष्टमीको अवसरमा विशेष पुजा भएको छ ।
हरेक वर्ष हुँदै आएको पुजामा यस वर्ष पनि श्रद्धालु भक्तजनको उल्लेख्य भीड लागेको छ । पूर्व ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा पुग्न नसक्ने भक्तजनहरु यहीबाट पाथिभरा मातालाई भक्ती श्रद्धा अर्पण गर्दछन् । हेटौंडाको उच्च भागमा रहेको भैरवडाँडाबाट बजार क्षेत्रमा सुन्दर दृश्यसमेत अवलोकन गर्न सकिन्छ ।
पाथिभरा मन्दिरमा पुजा अर्चना गर्नाले मनोकामना पुरा हुने जनविश्वास रहि आएको छ । विभिन्न झाकी सहित मन्दिर परिसरमा बागमती प्रदेश कार्यालयको टोलीले २१ तोपको सलामी अर्पण गरेको थियो । बि.स. २०६३ साल चैत्र २७ गते राति आफ्नो सपनामा पाथिभरा माताले दिनुभएको दृष्टी अनुसार त्यहि राती १२ बजे भैरवडाडाँमा पुगेर हेर्दा सपानीमा देखाए जस्तै स्थान भेटिएपछि पाथिभरा मातालाई त्यहाँ अवतरण गराउन सफल भएको पुजारी देवीदासको भनाई छ ।
पाथिभरा मन्दिरमा विशेष दिनहरुमा मात्र होइन अरु दिनहरुमा पनि पर्यटक तथा दर्शनार्थीहरु पुग्ने गरेको छ । मन्दिरसंग रहेको भ्यु टावरबाट हेटौंडा मनोरम दृश्य हेर्न, टिकटक बनाउन आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । छोटो दुरीको ट्रेकिङको लागि समेत यो क्षेत्र उपयुक्त मानिन्छ ।














