अखाद्य वस्तु नष्ट
२३ जेठ, हेटौँडा । बजार अनुगमनको क्रममा फेला परेका अखाद्य वस्तु नष्ट गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कँडेलको नेतृत्वको टोलीले जेठ २० गते गरेको बजार अनुगमनको क्रममा फेला पारेको अखाद्य वस्तु नष्ट गरिएको हो । अनुगमनका क्रममा हेटौंडा–४ स्थित न्यू सिवाकोटी सप्लायर्सबाट केकमा प्रयोग गरिने विभिन्न रंग र अन्य अखाद्य वस्तुहरू फेला परेको थियो ।
करीब ३१ हजार रुपैयाँ बराबरका जफत गरिएका सामग्रीहरू शुक्रबार हेटौंडा–१० स्थित डम्पिङ साइडमा प्रहरी, प्रशासन र सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको छ । अखाद्य वस्तु विक्री गर्ने सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन अनुसार ३ लाख रुपैयाँ जरिवाना गरिएको प्रशासकीय अधिकृत गुन्ज बहादुर न्यौपानेले बताउनुभयो ।














