अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दैआजाद बेकरीलाई २ लाख जरिवाना
२७ असोज, हेटौँडा । अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै हेटौंडा उपमहानगरपालिका–४ मा रहेको आजात बेकरीलाई तत्काल २ लाख रुपैंया जरिवाना गराइएको छ ।
अनुगमनका क्रममा अत्यधिक फोहोर पाइएपछि जिल्ला प्रशासन कार्यालय, मकवानपुरले उपभोक्ता संरक्षण ऐन २०७५ को ३९ (ख) बमोजिम तत्काल २ लाख रुपैंया जरिवाना गराएको सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी दिनुभयो । शेष मजिदले सञ्चालन गरेको उक्त बेकरीमा सरसफाइ कायम नराखिएको, फोहोर ठाउँमा पिठो मुसेको, चिनी र डाल्डा राख्ने भाँडाहरू असाध्यै फोहोर भएको पाइएको थियो । अनुगमन टोलीले उद्योगको साइनबोर्ड नराखिएको र बजार लैजान तयार पारिएको डोनटमा लेबल नभएको समेत फेला पारेको थियो । प्रशासकीय अधिकृत गुणराज न्यौपाने सहितको टोलीले अनुगमन गरी जरिवाना गरेको हो ।
सोमबार नै हेटौंडा–४ स्थित नक्स इन्डस्ट्रिज र हेटौंडा–५ मा पेय पदार्थ पियो उत्पादन गर्ने साची जेली उद्योगको पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा नक्स इन्डस्ट्रिजलाई सात दिनभित्र देखिएका कैफियतहरूमा सुधार ल्याउन निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अधिकृत पंकज दाहालले बताउनुभयो । नक्सलाई कच्चा पदाथ राख्ने ठाउँ र उत्पादन गर्ने स्थान छुट्टाछुट्टै बनाउन, कामदारहरूलाई अनिवार्य रूपमा मास्क, पन्जा र हेयर नेट लगाउन निर्देशन दिइएको छ ।
साथै, व्यवसाय दर्ता र अनुमतिपत्रमा उल्लेखित उद्देश्यका सामान मात्रै बिक्री÷वितरण गर्न भनिएको छ । त्यसैगरी, पियो उद्योग साची जेली उद्योग मा भएको अनुगमनका क्रममा कच्चा पदार्थ र अन्य अखाद्य सामग्री अलग–अलग राख्ने व्यवस्था मिलाउन निर्देशन दिइएको कार्यालयले जनाएको छ ।














