अपागंता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण

संवाददाता
२९ जेष्ठ २०८२, बुधबार १९:०६

२८ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले अपागंता भएका व्यक्तिहरूको दैनिक जीवनयापन सहज बनाउनका लागि विभिन्न सहायता सामग्रीहरू वितरण गरेको छ ।
हेटौंडा अस्पतालको सभाहलमा बुधबार आयोजित एक कार्यक्रमका बीच सामाजिक विकास मन्त्रालयले सहायता सामग्रीहरू प्रदान गरेको हो । सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री थापाले अपाङ्गता भएका व्यक्तिहरूको दैनिकी सहज बनाउन सहायता सामग्री प्रदान गरिएको बताउनुभयो ।
सहायता सामग्री प्रदान गर्न सहज होस् भनेर स्वास्थ्य मन्त्रालयले पनि मारवाडी सेवा समाजसँग सम्झौता गरेको जानकारी दिनुभयो । मन्त्री थापाले अपाङ्गता भएका व्यक्तिहरूलाई निरन्तर सहयोग गर्दै आएको र भविष्यमा पनि मन्त्रालय सहकार्यका लागि तयार रहेको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मबल बलियो बनाएर अगाडि बढ्न उहाँले आग्रह समेत गर्नुभयो ।
त्यसैगरी सामाजिक विकास मन्त्री खड्गीले अपाङ्गता भएका व्यक्तिहरूलाई आय–आर्जनमा सहभागी गराउन मन्त्रालयले सीप विकास सम्बन्धी तालिमहरू समेत प्रदान गरिरहेको जानकारी दिनुभयो । भवन संरचना निर्माण गर्दा अपाङ्गता मैत्री भवन बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । दूरदर्शिता नराखि संरचनाहरु निर्माण गरिदा अपांगता भएका व्यक्तिहरु समस्यामा पर्ने गरेको उहाँले बताउनुभयो ।
मन्त्री खड्गीले अपांगता भएका व्यक्तिहरूलाई केन्द्रमा राखेर संरचना तथा योजना निर्माण गर्नुपर्नेमा जोड दिँदै यस विषयमा स्थानीय सरकारको भूमिकालाई अझ सशक्त बनाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा हेटौंडा अस्पताल स्थित अपाङ्गता सरोकार केन्द्रद्वारा उत्पादित कृत्रिम खुट्टा, कृत्रिम हात, वैशाखी, ट्वाइलेट चियर, जुत्ता, क्यालिफर, श्रवण यन्त्र, सेतो छडी लगायत ७२ प्रकारका सहायक सामग्रीहरू वितरण गरिएको थियो । कुल २३ लाख ९९ हजार रुपैयाँ बराबरको सामग्री ५७ जना अपाङ्गता भएका व्यक्तिहरूलाई प्रदान गरिएको अपाङ्गता सरोकार केन्द्रका अध्यक्ष गणेश दवाडीले जानकारी दिनुभयो । २०७८ सालको जनगणना अनुसार बागमती प्रदेशमा १ लाख २४ हजार १ सय जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् । कार्यक्रममा सामाजिक विकास मन्त्रालयको सहयोगमा सञ्चालित सीप पुनस्र्थापना तथा व्यवसायिक तालिम अन्तर्गत झोला तथा ट्रयाकसुट बनाउने तालिमका सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*