अब निजी क्षेत्र गुनासोबाट बाहिर निस्किनुपर्छः अर्थमन्त्री पौडेल
१६ भाद्र, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब निजी क्षेत्र गुनासोबाट बाहिर निस्किनुपर्ने बताउनुभएको छ ।
आईतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सरकारले नसुन्ने र निजी क्षेत्रका समस्या सम्बोधन गर्नका निम्ति तयार हुँदैन थियो भने मात्रै गुनासोको प्रयोजन सही हुने बताउनुभयो । तर अहिलेको सरकार निजी क्षेत्रका समस्या सुन्न, समाधान गर्न तयार रहेको बताउनु भयो । यसको प्रमाण पछिल्ला सरकार गतिविधिले पनि प्रमाणित गरिसकेको बताउनु भयो ।
उहाँले गुनासो मात्रै नभइ समाधान खोज्न लाग्नुपर्ने बताउनुभयो । निजी क्षेत्रलाई गुनासोको तहबाट बाहिर निस्किएर लगानी, उत्पादन, रोजगारीको क्षेत्रमा योगदान दिन पनि अर्थमन्त्री पौडेलले आग्रह गर्नुभयो ।
उपप्रधानमन्त्री पौडेलले संसदमा विचाराधिन कानूनको बारेमा समितिमा निजी क्षेत्रसँग एक पटक छलफल गरेर सुझाव ग्रहण गरी कानूनहरु निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो ।














