महिला मिलनको रजत जयन्तीः जेष्ठ शेयर सदस्यहरु सम्मानित

पत्रकारिता तर्फ महासंघका अध्यक्ष अधिकारी सम्मानित
संवाददाता
४ बैशाख २०८३, शुक्रबार १७:३४

४ वैशाख, हेटौँडा । महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि.ले विविध कार्यक्रम गरी रजत जयन्ती मनाएको छ ।
स्थापना कालदेखि अहिलेसम्म संस्थाको नेतृत्वमा रहेकाहरुलाई रजत बर्षको अबसरमा सम्मान गरिएको छ । आमाको मुख हेर्ने औंशीको दिनमा आयोजित समापन कार्यक्रममा सहकारीका जेष्ठ शेयर सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले महिलाको नेतृत्वमा संचालित यो सहकारीले महिलाहरुलाई शीप सिकाई आयआर्जनमा जोड्न सफल रहेको भन्दै सहकारीको विगत देखि अहिलेसम्मको नेतृत्वको प्रशंसा गर्नुभयो । मन्त्रालयबाट आर्थिक सहयोग लिएर सहकारीमा आबद्ध महिलाहरुले पन्चे बाजा तालिम लिएर स्वरोजगार हुन सफल भएकोमा मन्त्री पौडेलले बधाई दिनुभएको थियो ।

पत्रकारिताका माध्यमबाट संस्थाको प्रचारप्रसारमा सहयोग पु¥याएको भन्दै नेपाल पत्रकार महायंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलाई नगद सहित सम्मान गरिएको थियो । यस्तै सहकारीमा कार्यरत जुनी वाईवालाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको थियो । सहकारीले रजत बर्षको अबसरमा आयोजना गरेको बिबिध खेलकुद र हाजिरी जबाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
५६ जना महिलाले एकसय रुपैयां बचत गरेर सुरु गरेको महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि मा हाल ६ हजार ४ सय ८ जना शेयर सदस्य छन् । सहकारीको २ कट्ठा १८ धुर जग्गामा आफ्नै भवन रह्को छ । सहकारीबाट कुल २ हजार ९ सय १२ जना शेयर सदस्यलाई ५५ करोड ४८ लाख ३८ हजार सात सय ६१ रुपैयां ऋण लगानी गरिएको छ । सहकारीको कुल ९१ करोड आर्थिक कारोबार रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*