‘अस्पतालहरुमा उर्जा आपूर्ति कटौती हुनै नदिने प्रतिबद्धता सहितको नीति’

संवाददाता
१ जेष्ठ २०८२, बुधबार १९:१८

३१ वैशाख, हेटौँडा । अस्पतालहरुमा उर्जा आपूर्ति कटौती हुँदा आइपर्ने समस्याका विषयमा हेटौंडामा कार्यशाला सम्पन्न भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको साझेदारीमा सामाजिक तथा वातावरणीय परिवर्तन अध्ययन संस्था नेपालले अस्पतालमा आकस्मिक रुपमा उर्जा कटौती हुँदा हुन सक्ने जोखिम, पूर्वतयारी लगायतका बारेमा सरोकारवाला निकायसँग छलफल गरेको हो । प्राकृतिक विपद्, प्राविधिक समस्या वा अन्य विविध कारणले विजुली आपूर्तीमा अवरोध आउँदा अस्पतालको सेवा प्रवाहमा पर्न सक्ने प्रभावका विषयमा कार्यशाला केन्द्रित रहेको थियो ।
कार्यक्रममा सहभागिहरुले अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा डेडिकेटेड लाइनको व्यवस्था हुनुपर्ने, वैकल्पिक उर्जाका स्रोतहरुमा लगानी बढाउनुपर्ने, समय समयमा जेनेरेटरको क्षमता जाँच हुनुपर्ने, अस्पतालहरुमा उर्जा आपूर्ति कटौती हुनै नदिने प्रतिबद्धता सहितको नीति बनाउनुपर्ने र बजेट विनियोजन गर्नुपर्ने लगायतका सुझाव दिएका थिए । साथै, अस्पतालहरू निर्माण गर्दा भू–गर्भीय अध्ययन अनिवार्य गरिनु पर्ने, कम उर्जा खपत गर्ने उपकरणहरूको प्राथमिकता दिनुपर्ने लगायतका सुझाव समेटिएको थियो ।
कार्यशालामा अनुसन्धानकर्ता कञ्चनमणी दीक्षित, डाक्टर नरेश रिमालले पेश गरेको अनुसन्धान प्रतिवेदन अनुसार हेटौंडा अस्पताल रहेको स्थान प्राकेतिक प्रकोपको उच्च जोखिममा रहेको देखाइएको छ । कार्यशालामा बोल्दै प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गंगादत्त नेपालले वैकल्पिक उर्जा स्रोतहरूको प्रयोगमा नीतिगत प्रतिबद्धता आवश्यक रहेका बताउनुभयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर प्रदिप ज्ञवालीले हेटौँडा अस्पतालमा मात्र नभई प्रदेशका १३ वटै अस्पतालहरुमा यस्ता अनुसन्धान आवश्यक रहेको बताउनुभयो ।
हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले आकस्मिक रूपमा पावर कट हुँदा तत्काल सेवा सुनिश्चित कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रयोगतात्मक अभ्यास आवश्यक रहेको बताउनुभयो । छलफलमा प्रदेश र स्थानीय तहका प्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, निजी क्षेत्रका प्रतिनिधि , नागरिक समाज, ऊर्जा प्रदायक क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*