अहिलेका शीर्ष नेतृत्वहरुबाट मुलुक बन्न सक्दैनः नेता भण्डारी

संवाददाता
१५ पुष २०८०, आईतवार १९:०८

१५ पुस, हेटौँडा । नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले अहिलेका शीर्ष नेतृत्वहरुबाट मुलुक बन्न नसक्ने बताउनुभएको छ ।
उहाँले मुलुक निर्माणको लागि सबै राजनीतिक दलहरुले आफ्नो पार्टीभित्र परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो । विपि समाज मकवानपुरले आइतबार गरेको विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले शीर्ष नेताहरु समयानुसार अपडेट भएमात्र समाज र राष्ट्र बन्ने बताउनुभयो । उहाँले वर्तमान निर्वाचन प्रणाली परिवर्तन गरेर जनप्रतिनिधिको संख्या घटाउनुपर्ने उल्लेख गर्नुभयो । नेपालको संविधान विश्वकै उत्कृष्ट भएपनि ३६ हजार जनप्रतिनिधिलाई देशको राजश्वले धान्न नसक्ने नेता भण्डारीको भनाई थियो । नेताहरुले फाल्तु गफ दिएर युवाहरुको विदेश पलायनलाई रोक्न नसक्ने उहाँले बताउनुभयो ।


नेता भण्डारीले हिजो मार्सी चामलको भात खुवाउनेहरु आज विद्रोही हुनुपरेको घटना स्वभाविक भएको बताउनुभयो । उहाँले युवा जमातहरु एक भए मुलुक बन्ने समेत जिकिर गर्नुभयो । नेता भण्डारीले नेपाललाई आईटी र स्वास्थ्यको हब बनाएर समृद्ध बनाउनुपर्ने बताउनुभयो । उहाँले पोखरा र भैरहवा विमानस्थलको ऋण तिर्न नसक्ने अवस्था आएको समेत उल्लेख गर्नुभयो । देशको भुगोल र बनोट अनुसार मुलुक निर्माणमा सबै नेतृत्वहरु लाग्नुपर्ने उहाँको भनाई थियो । नेता भण्डारीले विदेशमा रहेका युवाहरूको रेमिट्यान्सलाई सदुपयोग गर्ने हो भने विश्व बैंक जस्ता निकायहरूबाट विकासका लागि ऋण लिनु नपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस मकवानपुरको संयोजनमा भएको कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेताहरुले विपीको विचारहरु अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*