उद्धार, राहत र प्रतिकार्यको लागि उच्चस्तरीय एकीकृत संयन्त्र बनाउने

संवाददाता
२१ श्रावण २०८२, मंगलवार २१:१०

२० श्रावण, हेटौँडा । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी खानेपानी, उर्जा तथा सिचाई मन्त्री कृष्णकुमार तामाङलाई दिइएको छ ।
नवगठिन सरकारको मंगलबार बसेको पहिलो मन्त्रीपरिषद् बैठकले मन्त्री तामाङलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । त्यसैगरी बैठकले प्राकृतिक विपत्तीको कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारी निकाय लगायत अन्य संघसंस्थालाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत् समन्वयकारी ढंगले परिचालन गरिने निर्णय गरेको छ ।
प्रदेशभित्र उद्धार, राहत र प्रतिकार्यको लागि उच्चस्तरीय एकीकृत संयन्त्र बनाउने निर्णय गरेको प्रवक्ता तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार सो संयन्त्रमा आन्तरिक मामिला तथा कानुन मन्त्री संयोजक एवम् सम्बन्धीत प्रशासनिक निकायका प्रमुखहरु सदस्यको रुपमा रहेनछन् । संयन्त्रलाई तयारी अवस्थामा राखी आवश्यक सामग्री तत्काल उपलब्ध गराउने समेत निर्णय भएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी प्रदेशभित्र बाढी पहिरो जस्ता प्राकृतिक विपत्तीको कारण बासस्थान गुमेकाहरुलाई अस्थायी बसोबासको प्रबन्ध मिलाउने निर्णय समेत भएको मन्त्री तामाङले बताउनुभयो । विपत्तीबाट क्षतिग्रस्त भएका सडकहरुको संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालय तथा सम्बन्धित स्थानीय तहसंगको सहकार्यमा तत्काल मर्मत गरी सवारी आवागमनको प्रबन्ध मिलाउने निर्णय समेत बैठकले गरेको छ ।
त्यसैगरी बैठकले प्रदेशसभाबाट पारित गरेको संकल्प प्रस्तावलाई कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत गरेको छ । प्रदेशभित्र रहेको अति विपन्न सिमान्तकृत समुदाय, वनकरियाको उचित बासस्थानलाई उच्च प्राथमिकता दिने निर्णय भएको मन्त्री तामाङले बताउनुभयो । त्यसैगरी मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो मासिक पारिश्रमिकबाट आफ्नो निर्वाचन क्षेत्रभित्र रहेको एउटा अति सिमान्तकृत परिवारलाई घर निर्माण गरी हस्तान्तरण गर्ने घोषणा गर्नुभएको समेत उहाँले बताउनुभयो । त्यसैगरी आर्थिक अवस्थाको कारण स्वास्थ्य क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीलाई निश्चित मापदण्डको आधारमा छात्रवृत्ति उपलब्ध गराउने निर्णय समेत बैठकले गरेको प्रवक्ता तामाङले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*