उद्योगधन्दा फस्टाउन नसके रोजगारीको वातावरण बन्न सक्दैनः मुख्यमन्त्री लामा
१३ असार, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्योगधन्दा बिना रोजगारी सिर्जना हुन नसक्ने बताउनुभएको छ ।
बागमती प्रदेश उद्योग परिसंघ र सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुई दिने सीप महोत्सवको समापन समारोहमा बोल्दै मुख्यमन्त्री लामाले उद्योगधन्दा फस्टाउन नसके रोजगारीको वातावरण बन्न नसक्ने बताउनुभयो । मुख्यमन्त्री लामाले सरकारी क्षेत्र रोजगार प्रदायक क्षेत्र नभएको बताउँदै सरकारी कामलाई सेवाको रूपमा हेर्नुपर्ने धारणा राख्नुभयो ।
कल कारखानाबाट रोजगारी प्राप्त हुने भएकाले उद्योगी र उद्योगको संरक्षणका लागि सरकारले पनि खुकुलो निती अवलम्बन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मुख्यमन्त्री लामाले उद्योग क्षेत्रको विकासका लागि सरकार, कर्मचारी नागरिक, राजनीतिक दल सबै जिम्मेवार बन्न्ुपर्ने आवश्यकता औंल्याउनुभयो । उद्योगलाई अपनत्व नलिएसम्म फस्टाउन नसक्ने जिकिर गर्दै सरकारले लगानीकर्तालाई आकर्षित गर्न सक्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले सीपलाई उद्योगमा रूपान्तरण गर्न र उद्यमशीलतालाई प्रोत्साहन स्वरुप प्रदेश सरकारले उद्योग दर्तामा ७५ प्रतिशत छुट दिएको बताउनुभयो । मन्त्री तामाङले आगामी आर्थिक वर्षमा नमुनाका रूपमा दुईवटा जिल्लाका उद्यमीलाई विद्युत् महशुलमा छुट दिने बताउनुभयो ।

मदन भण्डारी राजमार्गलाई औद्योगिक करिडोरका रुपमा विकास गर्न रकम अभावले नसकिएको बताउँदै यस क्षेत्रको बजार विकास प्रवद्र्धन कार्यक्रमका लागि भने बजेट विनियोजन गरिएको बताउनुभयो । मन्त्री तामाङले स्वदेशमै उत्पादन भएका वस्तु अनिवार्य प्रयोगको नीति लिइएको बताउनुभयो ।
असार १२ र १३ गते सञ्चालित सीप महोत्सवमा मकवानपुर, चितवन, काठमाडौं, काभ्रेपलाञ्चोक जिल्लाका १८ वटा अप्रेन्टिसीप कार्यक्रम सञ्चालन भएका शिक्षालयमध्ये सूचना प्रविधि, अटोमोबाइल र होटल व्यवस्थापन अध्यापन हुने ९ वटा शिक्षालय सहभागी थिए । जसमा सूचना प्रविधितर्फ बुढानिलकण्ठ माविका विकास भण्डारी, अटोमोबाइल इन्जिनियरिङ तर्फ पनौति बहुप्राविधिक शिक्षालयका धनबहादुर तामाङ र होटल व्यवस्थापन तर्फ विपिका थापा मगर प्रथम भएका थिए । प्रथम हुने तीनै जनालाई प्रशंसापत्र सहित जनही १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।














